नेपालका विषयमा लेखिएका विभिन्न किताबहरू अब अनलाइनमै पढ्न पाइने भएको छ। त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागले नेपालबारे लेखिएका पुस्तक अनलाइनमा पढ्न सकिने व्यवस्था गरेको हो ।

विभागले पुस्तकालयमा रहेका नेपाल अध्ययनसँग सम्बिन्धत सामग्रीलाई ‘डिजिटाइज’ गर्दै छ । त्यहीअन्तर्गत झन्डै ६ हजार किताबलाई डिजिटाइज गरिएको विभागले जनाएकाे छ ।

विभागले आफूसँग भएका नेपालभाषा, नेपाली भाषा, कला, साहित्य, संस्कृति, इतिहासका पुस्तकबाहेक पुराना ठ्यासफू, पाण्डुलिपि, लिखतलगायत सामग्री ई-लाइब्रेरीमा राख्ने छ।

विभागका अनुसार विभागसँग ६० हजार सामग्री रहेका छन् । ई-लाइब्रेरीमा एक लाख सामग्री अपलोड गर्ने लक्ष्य विभागले लिएकाे छ । नेपालभाषा क्षेत्र र नेवार समुदाय तथा यसमाथि अध्ययन गर्न चाहने सबैले विभागलाई प्राज्ञिक मञ्चका रूपमा सदुपयोग गर्न समेत विभागले अपिल पनि गरेको छ ।

विभिन्न संस्था र व्यक्तिसँग सहयोग जुटाउँदै पुस्तकालय सञ्चालन गरिएको अवस्थामा डिजिटाइजका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ र बागमती प्रदेश सरकारले कम्प्युटर, स्क्यानरलगायत सामग्री सहयोग गरेको विभागले बताएकाे छ ।

स्मरणीय छ, पुस्तकालयमै गएर पनि अध्ययन गर्न सकिन्छ । साताको ६ दिन खुल्ने पुस्तकालयमा पाठक तथा अनुसन्धानदाताले पुस्तकालयकाे सदस्यता लिएर निःशुल्क पढ्न पाउँछन् ।