सेसेल्स । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले मनाएकाे छ । एक भर्चुअल कार्यक्रमको आयोजना गरी अफ्रिका च्याप्टरले स्थापना दिवस मनाएको हो ।

सन् १९९१ जनवरी ११ मा साहित्यकार होमनाथ सुवेदीले अमेरिकामा स्थापना गरेको अनेसासले आज तेत्तीसौं वसन्त पार गर्दैछ । त्यही दिनको जगमा उभिएर अनेसासले नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदाको सम्बर्द्धन, प्रवर्द्धन र विश्वव्यापीकरणमा उल्लेख्य काम गरिरहेकाे छ ।

यस वर्षदेखि हरेक वर्षको जनवरी ११ लाई अनेसास दिवसको रुपमा मनाउने केन्द्रको निर्णय अनुसार आफ्नो च्याप्टरले पनि स्थापना दिवस मनाएको अफ्रिका महादेशीय च्याप्टर अध्यक्ष गणेश खड्काले बताए ।

अनेसास अफ्रिका महादेशीय च्याप्टर अध्यक्ष गणेश खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङ रहेका थिए । अतिथिहरुमा साहित्यकार  तथा समालोचक ज्ञानु अधिकारी, कवि तथा सन्चारकर्मी मोहराज शर्मा थिए । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई सम्मान गरिएको थियो भने सम्मानपत्र च्याप्टर अध्यक्ष गणेश खड्काले वाचन गरेर समर्पण गरेका थिए ।

कार्यक्रममा अनेसासका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव बिमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल,  बिओटी सल्लाहकार रोहिणी शर्मालगायतले अतिथिका रुपमा आ-आफ्नो तर्फबाट शुभकामना मन्तव्य राख्दै अफ्रिका महादेशीय च्याप्टरको प्रशंसा गरेका थिए ।

कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका प्रमुख सल्लाहकार हिक्मत थापा, सल्लाहकार सुवास सापकोटा, सचिव सागर भण्डारी, कोषाध्यक्ष तिर्सना कोइराला, कार्यसमिति सदस्यहरु रामचन्द्र राई, पासाङ शेर्पा, गङ्गा बस्याललगायत सर्जकहरू प्रेमप्रसाद भट्टराई, सिन्धु पौडेल, जानुका भट्टराई, गङ्गा पोखरेलसमेतको बाक्लो उपस्थिति रहेको थियो । धेरैजसोले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ कवि श्रवण मुकारुङले अनेसासाको फैलावट, ज्ञान र विस्तारले नेपाली भाषी समुदायलाई गौरवान्वित बनाएको बताए । नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा अनेसास र अफ्रिका च्याप्टरको योगदान अतुलनीय रहेको भन्दै उनले अझै उर्जाशील भएर प्रगति मार्गमा अघि बढ्न अभिप्रेरित गरे । साथै, उनले अनेसास अफ्रिकाद्वारा प्रकाशित साहित्य सङ्गालो “किलिमन्जारो” विमोचनका अवसरमा आफ्नो उपस्थिति र साथको समेत स्मरण गरे ।

अतिथि साहित्यकार तथा समालोचक ज्ञानु अधिकारीले आफू अफ्रिका च्याप्टरको कार्यक्रममा पहिलोपटक सहभागी भएको र यहाँका श्रष्टाहरुको सक्रियता र लगनले प्रभावित भएको बताउँदै आफ्नो तर्फबाट सदैव साथ रहने बताइन् ।

अर्का अतिथि कवि तथा सन्चारकर्मी मोहराज शर्माले अनेसास अफ्रिका महादेशीय च्याप्टर स्थापना भएदेखि नै आफूले निक्कै अभिरुचिपूर्वक नियालिरहेको र यसले तय गरेको उर्वर यात्राले आफूलाई भित्रैसम्म छोएको बताए । साथै, उनले सन्चारका माध्यमबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अध्ययन, अनुसन्धान, साधना र सिर्जनाले अनेसासको श्रीवृद्धिमा बल पुग्ने हुनाले सिर्जनात्मक कार्यमा निरन्तर लाग्न अनेसासमा आवद्ध सबै श्रष्टाहरुलाई आव्हान गरे ।

अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले अनेसास स्थापना दिवसको आरम्भ वर्ष मनाउने क्रममा अफ्रिका महादेशीय च्याप्टरले उदाहरणीय काम गरेको जनाए ।

अनेसास अफ्रिका महादेशीय च्याप्टरकी महासचिव चन्द्रकला आचार्यले सन्चालन गरेको कार्यक्रममा च्याप्टरका उपाध्यक्ष कृष्ण दत्त भट्टले स्वागत मनतव्य दिएका थिए ।

केन्द्रीय कार्यसमितिको पनि केही घन्टाअघिसम्म सोही कार्यक्रम चलेकाले समयको तालमेल नमिल्दा नेपालबाट आमन्त्रित प्रमुख अतिथि र अतिथिहरूले केही असहजता झेल्नु परेकोमा आयोजकको तर्फबाट माफी माग्दै च्याप्टर अध्यक्ष गणेश खड्काले आफ्नो छोटो मन्तव्यसहित कार्यक्रम विसर्जन गरेका थिए ।