साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई होमनाथ भट्टराईद्वारा लेखिएको कृषि वैज्ञानिक तथा कवि डा. हरिकुमार श्रेष्ठको दोस्रो गजलकृति “आँकुरा” प्राप्त भएकाे छ । सअघि श्रेष्ठको कविताकृति ‘तरङ्ग’ प्रकाशन भइसकेको छ ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चद्वारा प्रकाशित ‘आँकुरा’मा ७५ वटा गजल संग्रहित छन् । यसमा श्रेष्ठले संसार, जीवन र अनुभवहरूलाई बिम्बप्रतिकको सुमधुर संयोजनबाट लयात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
भूमिकामा दामोदर पुडासैनी ‘किशोर’ लेख्छन्, “यसभित्रका केही गजलहरू उहाँ ताइवान रहँदा रचिएका छन् भने केही नेपाल बसाइमा जन्मिएका छन् । विदेशमा रचिउन् वा स्वदेशमा, डा. श्रेष्ठका गजलहरूमा प्रेम, पीडा, विरह, खुसी, राष्ट्रप्रेमजस्ता विषयहरू टड्कारो रूपमा उठेका छन् । माया हो, कहिलेकाहीँ असाध्यै उर्वर र उपलब्धिपूर्ण रूपमा उठ्छ । कहिलेकाहीँ त्यही माया विषको सेलो नबेर ब्युँतन्छ । माया नभई पनि नहुने भएर पनि नहुने सांसारिक रीत छ । प्रेमको विशिष्टता, प्रेमको शाश्वतता, प्रेमका अनेकौँ रूप, प्रेम, संयोग, प्रेम वियोग, प्रेम निवेदन, प्रेम प्रतीक्षा, अनुरक्ति–विरक्ति, तृप्ति–अतृप्ति आदि भावहरूले संग्रह सलबलाएको छ । सामाजिक विकृति, विसंगतिप्रति व्यङ्ग्य गर्न पनि चुक्नुभएको छैन गजलकार । जीवन अस्तित्व, जीवनबोध, आशा, निराशा, दमित आकाङ्क्षाहरूको उजागर, जीवन सौन्दर्यको उपासना गर्नु र त्यस अनुरूपको सिर्जनशीलता बढाउनु एउटा सफल स्रष्टाको मूल कर्तव्य पनि हो । डा. हरिकुमार श्रेष्ठ उल्लिखित पक्षहरूमा संवेदनशील रूपमा आफ्ना भाव मञ्जरीहरूलाई एउटै मालाको रूपमा उन्न जाग्रत बन्नुभएको छ ।”
डा. हरिकुमार श्रेष्ठ गजलप्रतिको माया पोख्छन्, “मलाई गजलप्रति निकै प्रगाढ माया बस्न थाल्यो । यसले मेरो जीवनमा एक बहार ल्याउन थाल्यो । अनि बिस्तारै यसप्रतिको चाहना र इच्छाशक्ति झनै मजबुत बन्दै गयो । गजलले वास्तवमै सुख, दुःख, उज्यालो, अँध्यारो, रङ्ग–तरङ्गका तरेलीसँग लुटपुटिंदै र मितेरी लगाउँदै जीवनलाई निकै नै चलायमान र जागरूक बनाइराख्दो रहेछ र पो जीवनलाई सदैव रसदार र स्वादिलो बनाउँदो रहेछ । त्यसैले मलाई हिजोआज गजलबिनाको आफ्नो जीवन निरस र बेस्वादझैँ लाग्न थाल्यो ।”
८७ पृष्ठमा आधारित यस पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।