राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन् । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्पन्न स्रष्टाहरू सम्मानित भएका हुन् ।

नेपाल व्यावसायिक कलाकार संघद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन् ।

सोही समारोहमा साहित्यपोस्टका स्तम्भ लेखक ज्ञानेन्द्र विवशलाई ‘नारायणदेवी कलालेखन पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यसैगरी, मूर्तिकलामा लक्ष्मण भुजेल, चित्रकलामा सुजनवीर बज्राचार्य, ग्राफिक डिजाइनमा प्रकाश थापा ‘प्रथा’लगायत मोफसलका कलाकारहरू महेन्द्र राई, गणेश लामा ‘आँसु’, श्रवणकुमार चौधरी आदिलाई उपमेयरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरेकी थिइन् ।

उपमेयर डङ्गोलले पुरस्कारदाताहरुलाई राष्ट्रिय विभूति अरनिको आकृति अङ्कित मायाको चिनो पनि प्रदान गरेकी थिइन् । कलाकारहरुलाई सम्मानपत्रसहित नगद राशिको शैली र फूलमाला अर्पण गरिएको थियो । विभिन्न दाताहरुले स्थापना गरेको १५ वटा पुरस्कार तथा सम्मान १५ जना कलासर्जकहरुलाई सोही समारोहमा प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष आईबि मल्ल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, भोला पौडेल, रोशन श्रेष्ठले आ–आफ्नो मन्तव्य प्रकट गरेका थिए । पुरस्कृतहरुका तर्फबाट कलाकार लक्ष्मी लामिछानेले आभार प्रकट गरेकी थिइन् ।