संघीय संसद्ले जारी गरेको नयाँ प्रतीक (लोगो) विवादमा परे पनि सो सच्याउनेतर्फ नलागी संसद्ले मेरो गोरूको बाह्रै टक्का भनेझैँ प्रतिक्रिया दिएको छ । संघीय संसद्को सचिवालयका उपसचिव तथा सहायक सूचना प्रवक्ता दशरथ धमलाले नयाँ प्रतीकमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन् । जबकि सामाजिक सञ्जालभरि नयाँ प्रतीक चिह्न भद्दा भएको र सिर्जनशीलताको कुनै नामनिशान नरहेको भन्दै आलोचना भइरहेको छ ।

हिजै मात्र (आइतबार) यो लोगो सांसदहरूलाई हस्तान्तरण गरिएको थियो ।

पछिल्लो समय लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि नयाँ प्रतीक चिह्न परिवर्तन गरिएको हो । यसपछि आइतबार अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा अंकित यो लोगो संघीय संसद्का पदाधिकारीहरुलाई हस्तान्तरण गरेको थियो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई संघीय संसद्का महासचिव डा. भरतराज गौतमले लोगो हस्तान्तरण गरेका थिए ।

गएको जेठ ११ मा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको अद्यावधिक नक्सा अनुसारको लोगो (प्रतीक चिह्न) परिमार्जन गर्ने निर्णय गरेको थियो ।

लोगोलाई बाग्मती प्रदेश सरकारको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । लोगोमा दुई लाल सुनको जलप लगाइएको, १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । यो लोगो बनाउन एउटालाई ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको हो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसद्मा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

लोगो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको थियो । सांसदहरुलाई बाँडिएको लोगो सार्वजनिक भएपछि, यो केवल लोगो होइन, संसद् र सरकारको कला चेतनाको स्तर हो । यो लोगो देख्दा यस्तो लाग्छ कि चेतनाको स्तर पनि सकिएको जस्तो भन्ने जस्ता थुप्रै टिप्पणीहरु आएका थिए ।

 

सामाजिक सञ्जालमा आएका टिकाटिप्णी र विरोध सामान्य भएकाे र त्यसले गरिसकेकाे कामलाइ केही फरक नपर्ने  उपसचिव दशरथ धमलाले  बताए ।  उनले साहित्यपोस्टसँग भने, ‘यो लोगो कारीगढले हातले बनाएका हुन् । हातले बनाउँदा केही त्रुटि हुनसक्छ तर बिग्रेको भने चाहिँ होइन ।’

‘सामाजिक सञ्जालमा संघीय संसद्, नेपाल लेखिएकोमा संसद्को सं मा चन्द्रबिन्दु नभएको भनिएको छ तर त्यस्तो होइन् त्यहाँ सबै सही नै लेखिएको छ,’ धमलाको दाबी छ । उनले भने , ‘तपाईंहरुलाई त्यस्तो गलत छ भन्ने  लाग्छ भने हाम्राे वेबसाइटमा हेर्न सक्नुहुन्छ ।’

संसद्को लोगो चर्चित चित्रकार टेकवीर मुखियाले बनाएका हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको परिमार्जित लोगो पनि टेकवीर मुखियाले हातले नै बनाएको उप सचिव धमलाले बताए ।

यो लोगो बनाएबापत यसका कलाकार टेकवीर मुखियालाई सरकारले ५० हजार रुपैयाँ दिएको थियो । कर काटेर ४२ हजार रुपैयाँ हात परेको मुखियाले साहित्यपाेस्टलाइ  जानकारी दिएका छन् । ‘मेरो कलाको सम्मान हुँदैन र यसरी जथाभावी उपयोग गरिन्छ भने यसबापत मलाई दिइएको पारिश्रमिक म आजै फिर्ता गर्न तयार छु,’ मुखियाले भने, ‘सृजनामा रंग, कला, डिजाइनको अर्थ र महत्व के हुन्छ भनेर सुरुमा सरकारी कर्मचारीलाई बुझाउनु पनि जरुरी देखियो, यसरी जथाभावी गर्न पाइन्न ।’

पुरानो चाँदीमा संसदको लोगो हेर्दा र अहिलेको लोगो हेर्दा निकै फरक देखिन्छ । सामाजिक सञ्चालमा यहि कुराकाे विराेध भएकाे हाे । तर उपसचिव धमला भने याे समान्य हाे भन्ने कुरामा अडिग देखिन्छन् ।