पत्रकार दिपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको सङ्कट’ पुस्तक विमोचन भएको छ ।  काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रमका बिच डा. सन्दुक रुइत, साहित्यकार गणेश रसिक र मानव अधिकारकर्मी मोहना अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिजोलिएको बताए । उनले भने, ‘कोभिड महामारीका लागि विश्वका कुनै पनि मुलुक तयार थिएन। यस्तोमा प्राविधिक, व्यवस्थापकीय समस्या तथा गडबड हुन स्वाभाविक हो तर नेपालको स्वास्थ्य क्षेत्रमा मिसिएको राजनीतिक चलखेल अस्वाभाविक थियो । यस्तोमा सरकार पक्षबाट नकारात्मक टिप्पणी गर्दै सकारात्मक पाटोबारे उल्लेख नगरेको गुनासा आए।’

कोरोना महामारीको तेस्रो लहर टरिसक्दा पनि नयाँ आउने स्वास्थ्य सङ्कटबारे सरकारको तयारीका विषयमा अझै प्रश्न गर्ने स्थान रहेको उनले बताए । पुस्तकको विज्ञ समीक्षकको रूपमा डा. अर्जुन कार्कीले दाहालद्वारा लिखिक पुस्तकले महामारीका बेला राज्यसंयन्त्र कति भद्रोगोल रहेछन् भन्ने पुष्टि गर्ने एक दस्ताबेज भएको बताए ।

डेढ दशक यता पत्रकारितामा सक्रिय दाहालसँग देशमा उत्पन्न झाडापखला, स्वाइन फ्लुलगायतको महामारी, भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायत विपद्को स्थलगत रिपोर्टिङ गरेको अनुभव छ । उनले सन् २०१९ देखि नेपालमा फैलिएको कोरोना महामारीमा गरेको स्थलगत रिपोर्टिङको अनुभव र थप अध्ययन गरी महामारीको समग्र प्रभाव संक्षेपमा अभिलेख राख्ने क्रममा पुस्तक लेखेको बताइन् ।

पुस्तकमा कोरोना महामारीका कारण चीनको वुह्रान बिथोलिएको प्रसंगदेखि, नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी नहुँदा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको उनको भनाइ छ । महामारीका बेला देखिएको सरकारको लापरवाही, बेथिति,बद्समासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुष्तकमा समावेश गरिएको छ ।

महामारीबाट प्रभावित र संक्रमितहरूको जीवन जोगाउन चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षकर्मी, स्वयम्सेवकलगायतले गरेको योगदानबारे पनि दाहालले पुस्तकमा उल्लेख गरेकी छन् । ‘यो पुस्तक कोरोना महामारीको प्रभावको अभिलेख मात्रै होइन,’ उनले भनिन्, ‘आगामी दिनमा यस्ता महामारी फैलिएमा सरकार वा सरोकारवाला निकायले कहाँ कहाँ ध्यान दिनुपर्छ भन्ने सिकाइ पनि हो ।’

बारबारा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले फाउन्डेसनले सामाजिक क्षेत्रका लागि छुट्ट्याएको फन्डमार्फत ‘स्वास्थ्य शिक्षा’ पुस्तकलाई स्थान दिएको बताए ।