
कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । वि.सं १९९८ साल जेठ २९ गते काठमाडौँ जन्मेका चञ्चलको आइतबार काठमाडौँमा निधन भएको हो ।
उहाँको आज (सोमबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षीय चञ्चलका केही महिनाअघि मात्र ‘बाँचेको युग मरेका मान्छे’ (अनुभव र अनुभूति) र इन्मेरिका (नियात्रा सङ्ग्रह) प्रकाशित भएको थियो।
वि.सं १९९८ साल जेठ २९ गते धर्मस्थली, महाङ्काल, काठमाडौंमा जन्मेका चञ्चल वि.सं २०२० सालमा रूपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशन गरी साहित्यमा प्रवेश गरेका थिए । कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उनको लेखनको प्रमुख विधा भने कथा रह्यो ।
उनले बालसाहित्यमा पनि कलम चलाए । लेखनको उत्तारार्धमा उनले संस्मरण, यात्रा संस्मरणलगायतका गद्य विधामा समेत कलम चलाएका थिए । उनको संलग्नता अनुवाद र सम्पादनमा समेत रहेको थियो ।
उनका प्रकाशित कथासङ्ग्रहरु अतृप्ति (२०२६), विश्वम्भर चञ्चलका कथाहरु (२०३३), जीवनवृत्त (२०४०), युध्द भड्किरहेछ (२०४७), अनामनगर (२०५४), गन्तव्यहीन दिशाहीन (२०५७) लगायत रहेका छन् । त्यस्तै, यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका आदि रहेका छन् ।
बालसाहित्यमा टमको बहादुरी (बाल उपन्यास, २०३०), पञ्चैवाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत सङ्ग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा सङ्ग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चीं बिरालो म्याउँ (बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवि (जीवनी, २०५५), लगायतका कृतिहरू रहेका छन् ।
चञ्चलले साहित्य सेवाका लागि विविध पुरस्कारहरू समेत प्राप्त गरेका थिए । उनले मैनाली कथा पुरस्कार (२०४३), राष्ट्रिय बाल साहित्य पुरस्कार (२०५४), बाल पुस्तक पुरस्कार (२०४७), रत्न बाल पुरस्कार (२०५७), नूर गङ्गा बाल साहित्य पुरस्कार (२०६९) प्राप्त गरेका थिए ।
सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका उनी साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत भएका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

