सुकर्म साङ्गीतिक ब्याण्डका अध्यक्ष, सितारवादक प्रा. डा. ध्रुवेशचन्द्र रेग्मीका दुई कृति सार्वजनिक भएका छन् । रेग्मीका खोज तथा अनुसन्धानमा आधारित पुस्तक ‘नेपाली सङ्गीत दरबार’ र ‘म्युजिक, मिफ एण्ड मेलोडी’ सार्वजनिक भएका हुन् ।
काठमाडौँमा आयोजित एक समारोहका बिच प्राध्यापक डा. अभि सुवेदी, वरिष्ठ सङ्गीतकार प्रा. दीपक जंगम, प्राध्यापक डा. वीणा पौड्याल तथा गायक डा. लोचन रिजालले दुवै कृतिकाे विमोचन संयुक्त रूपमा गरेका छन् ।
‘संगीतको उत्पत्ति, सामवेददेखि लिएर राजामहाराजाहरू हुँदै संगीत कसरी आजको समयसम्म आइपुग्यो भन्ने इतिहास पुस्तकमा छ,’ विमोचन कार्यक्रममा बेल्दै प्राडा. अभि सुवेदीले भने, ‘त्यति मात्रै होइन, हाम्रो संस्कृति, धर्म, समाज र व्यवहारिकतासँग जोडिएको विषय संगीतलाई यसरी अभिलेखीकरण गर्नु हाम्रो ठूलो प्राप्ति हो ।’
मन्तव्यका क्रममा संगीतकार दीपक जंगमले भने, ‘सङ्गीत विषयको अभिलेखीकरणले पाठक, अनुसन्धाता र संगीत तथा संस्कृतिको विषयमा अभिरुचि राख्नेलाई सहयोग पुग्नेछ । राज्यबाट कोरा मनोरञ्जनका रूपमा मात्रै हेरिंदै आएको विषयमा विषद पुस्तक लेखिनु आफैँमा गौरवको कुरा हो ।’
गायक लोचन रिजालले छिमेकी मुलुकले संगीतबाट राष्ट्रिय आएमा ठूलो योगदान दिइरहेको अवस्थामा नेपाली कलाकार अझै पेसागत रूपमा सम्मानित हुन नसकेको बताए । उनले भने, ‘यो पुस्तकले संगीतसँग जोडिएको हाम्रो इतिहास मात्रै भन्दैन । हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र कलाका वैभवका बारेमा पनि जानकारी दिन्छ र हामी कलामा कति सम्वृद्द थियौं भन्ने दृष्टान्त प्रस्तुत गर्छ ।’
‘नेपाली सङ्गीत दरबार’ र ‘म्युजिक, मिफ एण्ड मेलोडी’ दुवै पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।