राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले छत्तिसौँ स्थापना दिवसको अवसरमा ‘जबजको सौन्दर्य चिन्तन’ नामक कृति लोकार्पण गरेकाे छ । एक कार्यक्रमका बिच प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासङ्घका उपाध्यक्ष आर.सी. न्यौपानेको परिकल्पना एवम् सम्पादनमा तयार पारिएको सो ग्रन्थको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पोखरेलले महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीद्वारा रचना गरिएको झण्डाको गीतसमेत लोकार्पण गरे । सोही अवसरमा राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घ, नेपालद्वारा गठित नौमती बाजा समूहको पनि शुभारम्भ गरिएको थियो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य तथा महासङ्घका इन्चार्ज रघु पन्त, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, महासङ्घका उपाध्यक्ष तथा ग्रन्थका प्रधान सम्पादक आर.सी. न्यौपानेलगायत रहेका थिए ।

प्रधान सम्पादक आर.सी. न्यौपानेले ग्रन्थको दार्शनिक एवम् राजनीतिक सौन्दर्यका बारेमा परिचर्चा गर्दै भने, “सिद्धान्ततः सौन्दर्य चिन्तन विज्ञान हो । यो कलाको दर्शन हो, ज्ञानको स्रोत हो । समाज विज्ञानको दर्शन तथा व्यवहारबाट सत्यको खोज गर्ने या सिद्धान्तलाई जीवनमा उतार्ने ज्ञानको स्रोत सौन्दर्य चिन्तन हो । सौन्दर्य चिन्तन पदार्थ र चेतना, पदार्थ र ऊर्जा, स्थूल र सूक्ष्मको कठिन रहस्य पत्ता लगाउने पद्धति हो । जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनका परम्परामा माक्र्सवादको सृजनात्मक विकासको एउटा महान् परिघटनाबाट निर्माण भएको हो । नेकपा (एमाले)को मार्गनिर्देशक सिद्धान्तका रूपमा प्रतिपादित यस सिद्धान्तका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवम् वैचारिक लगायतका अनेक आयामहरू छन् ।”

वार्षिक उत्सव तथा लोकार्पण कार्यक्रममा रघुजी पन्तले कला, साहित्य तथा संस्कृतिको महत्त्वबारे मन्तव्य राखे भने प्रमुख अतिथि ईश्वर पोखरेलले जबजको सौन्दर्य चिन्तन नामक ग्रन्थमा केन्द्रित भएर राजनीतिक, वैचारिक दार्शनिक सार्गभित मन्तव्य राखे ।

उक्त कार्यक्रममा महासङ्घका उपाध्यक्ष भूमिका सुब्बा, कार्यवाहक महासचिव अशोक राई, कोषाध्यक्ष सिन्धु जलेसा, प्रा.डा. जीवेन्द्र देव गिरी, प्रा. केशव सुवेदी, प्रा.डा. ध्रुवकुमार घिमिरे, डा. षडानन्द पौडेल, प्रा. जगत उपाध्याय ‘प्रक्षित’ मञ्जुल, शान्ता मानवीलगायतका विशिष्ट व्यक्तित्त्वहरूको उपस्थिति  रहेको कार्यक्रमको सञ्चालन दिनेश डि.सी.ले गरेका थिए ।

महासङ्घका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रेमनाथ अधिकारीद्वारा कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै कार्यक्रम समापन गरेका थिए ।