वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वंग: र उहाँकी पत्नी ध्रुवेश्वरी कायस्थ ग्वंगःलाई शखी प्रतिष्ठानले सम्मान गरेको छ । शखी प्रतिष्ठानका पदाधिकारीहरूले ग्वंगःकाे निवास निष्ठाछेँ पुगेर दम्पत्तीलाई सम्मान गरेका हुन्  ।

८९ वर्ष उमेरका संस्कृतिविद् तथा साहित्यकार ग्वंगःले सम्मानका क्रममा सर्जकहरूको यस्तै मायाले आफूलाई लेखन र जिउन उर्जा मिलेको बताउनुभयो । उहाँले आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग पढेका बेला उहाँको निद्रा निबन्ध पढेर ‘सपना’ निबन्ध लेखेर सुनाएको र देवकोटाले उक्त निबन्ध अत्यन्तै राम्रो रहेको भन्दै धाप मारेकाे बताउनुभयो । देवकोटाकै प्रेरणाले साहित्यलेखन अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष मञ्जिला अनिलले ग्वंगःजस्ता सर्जकलाई यो राज्यले नदेख्नु बिडम्वना भएको बताउनुभयो ।

सर्जक ग्वंगःका संस्कृतिका आयाम – २०५२, संस्कृतिया पलं (नेपाल संवत १११०), अवकाशपछिको आकाश–२०६७, चराको गुँडझैँ जन्मस्थल (मेरो भक्तपुर–कविता सङ्ग्रह २०७३), औकातभरिको सौगात– निबन्ध सङ्ग्रह २०७३, रङ्ग अभिज्ञान –निवन्ध सङ्ग्रह २०७४ प्रकाशित छन् ।

ग्वंगः नेपाल सरकारका अवकाश प्राप्त उपसचिव हुनुहुन्छ । उहाँले मुलुकमा विकेन्द्रीकरणका योजना लागू गर्न प्रमुख भूमिकामा रहेर लामो समय प्रमुख जिल्ला अधिकारीहरूलाई प्रशिक्षणा दिनुभएको थियो । पछिल्लो समय यो उमेरमा पनि पत्रपत्रिकामा लेखहरू प्रकाशन गर्दै लेखनलाई निरन्तरता दिँदै आउनुभएको छ ।