काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १५६ औँ आख्यान वाचन कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको ‘मखमली’ (उपन्यास) र विजय चालिसेको ‘अभिशप्त रात’ (अनुवाद कथासङ्ग्रह) लोकार्पण भएका छन् ।
वरिष्ठ हास्यव्यङ्ग्य साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्य र सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विशिष्ट अतिथि डा. श्री विश्वदीप अधिकारी, डा. बमबहादुर थापा जिताली, ईश्वरीप्रसाद लामिछाने, गोपाल भण्डारी, समालोचक गोपी मैनाली, समीक्षक ठाकुर शर्मा भण्डारी हुनुहुन्थ्यो ।
त्यसैगरी, अतिथिमा युवराज मैनाली, गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, विष्णुप्रसाद पन्त, उदय निरौला, ध्रुव मधिकर्मी, कणाद महर्षि, विमल भौकाजी, डा. मनोज जोशी, भगतदास श्रेष्ठ, तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान आदि हुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको पहिलो चरणमा आख्यानवाचन भयो । जसमा ललिता दोषी, रञ्जना पराजुली लम्साल र शारदा पराजुलीले लघुकथा वाचन गर्नुभयो । कथा वाचनपछि पुस्तक लोकार्पणको कार्यक्रम भयो । विभिन्न जापानी कथाकारहरूका कथाहरूलाई वरिष्ठ पत्रकार एवम् आख्यानकार विजय चालिसेद्वारा नेपाली भाषामा अनुवाद गरिएको कथासङ्ग्रह ‘अभिशप्त रात’ र त्यसपछि महाकाव्यकार एवम् उपन्यासकार बाजुराम चालिसेले लेख्नुभएको उपन्यास ‘मखमली’ प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले समेत लोकार्पण गर्नुभएको थियो ।
लोकार्पित पुस्तक ‘अभिशप्त रात’को समीक्षा समीक्षक एवम् समालोचक गोपी मैनालीले गर्नुभयो भने मखमलीको समीक्षक एवम् समालोचक ठाकुर शर्मा भण्डारीले गर्नुभयो । मैनालीले अभिशप्त रातमा उत्तम कथाहरू रहेकाले अनुवादकको रोजाइ अब्बल रहेको बताउनुहुँदै अनुवादको क्रममा पाइने इतिहासदेखि वर्तमानसम्मका आरोहअवरोहको बारेमा समेत बताउनुभयो ।
अर्को लोकार्पित उपन्यास ‘मखमली’को समीक्षा गर्दै ठाकुर शर्माले यो उपन्यासमा हाम्रै गाउँघरका कथा समेटिएको छ । यहाँका पात्र र पात्रमा घटेका घटना तथा कथानक अत्यन्त रोचक रहेकाले पढेपछि छोड्न मन नलाग्ने बताउनुभयो । बाजुरामका यसभन्दा अगाडिका उपन्यासहरू एक से एक उम्दा रहेका छन् भने तीभन्दा पनि अझ खारिएको र स्तरीय उपन्यास मखमली रहेको समीक्षक शर्माले बताउनुभयो ।
पचासी जनाको उपस्थितिमा भएको यस कार्यक्रममा गोपाल भण्डारी, डा. विश्वदीप अधिकारी र युवराज मैनालीले शुभकामना मन्तव्य दिनुभएको थियो । लोकार्पित कृतिका सर्जकद्वय विजय चालिसे र बाजुराम पौडेलले आफ्नो लेखकीय मन्तव्य सहित धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सभापति गोविन्द घिमिरे वेदमणिले दुवै कृतिकारहरूलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।