राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरेबापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ । सरकाले ऋण स्वरूप दिएको १ करोड रकम नलिने निर्णय गरेको राष्ट्रिय आविष्कार केन्द्रले पुनको पुस्तक बेचेर आएको आम्दानीले वीरगन्ज स्थित कृषि औजार कारखाना चलाउने तयारी गरेको हो ।
सरकारले दिने १ करोड ऋण नलिएर पुस्तक बेचेरै कृषि औजार कारखाना चलाउने तयारी गरेकाे राष्ट्रिय अविष्कार केन्द्रले करिब २५ हजार प्रति बिक्री गरिसकेकाे छ । जम्मा ३५ हजार प्रति पुस्तक छापिएकाेमा २४ हजार ७ सय २५ प्रति बिक्री भएकाे हाे । आविष्कार केन्द्रका अनुसार थप २५ हजार पुस्तक छाप्ने तयारी भइरहेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक सदस्य डम्मरबहादुर नेपालीले पुस्तक बिक्री तथा कृषि औजार कारखानाका बारेमा भन्छन्, ‘किताब बेचेर कारखाना चलाउन सम्भव देखेरै हामी सरकारको ऋण अस्वीकार गरेका हाैँ । पुस्तक प्रकाशन र बिक्री वितरणमा सम्पूर्ण रूपमा लागेका छौँ । अहिलेसम्म २४ हजार ७२५ पुस्तक बिक्री भइसकेको छ । थप २५ हजार प्रकाशनको तयारीमा छौँ ।’
प्रकाशनको तयारीमा रहेकाे २५ हजार प्रतिसमेत आविष्कार केन्द्रले पूर्ण रूपमा बिक्री गर्न सके पुस्तक बिक्रीको जम्मा सङ्ख्या ६० हजार प्रति पुग्नेछ । पुस्तकको खुद्रा बजार ७५० रुपैयाँ तोकिएको छ ।
एक वर्षअघि अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच कृषि औजार कारखानाको पहिलो चरणको मर्मत सम्भार खर्च सरकारले बेहोर्ने सहमति भएको थियो । सहमतिअनुसार सहयोग नगर्ने, कारखाना सञ्चालनका लागि १ करोड ऋण दिने अर्थ मन्त्रालयले निर्णय गरेपछि आविष्कार केन्द्रका सो रकम नलिने निर्णय गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।