वरिष्ठ पत्रकार तथा सम्पादक गोकुलप्रसाद पोखरेलकाे निधन भएकाे छ । गोरखापत्रको साहित्यिक प्रकाशन ‘मधुपर्क’का पूर्व सम्पादक पोखरेलको सोमबार निधन भएको हो ।

मधुपर्क मासिकको २०३६ सालमा कामु सम्पादक तथा २०३८ सालमा सम्पादकको जिम्मेवारी बहन गरेका पोखरेलकाे ८७ वर्षकाे उमेरमा निधन भएकाे हाे । उहाँ दमकाे समस्याबाट पीडित रहँदै आउनुभएकाे थियो ।

पोखरेलका छोरा विदेशमा रहनुभएकाले मङ्गलबार (आज) उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएकाे छ । स्वर्गाीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

पत्रकारिता क्षेत्रमा चार दशकभन्दा बढी बिताउनुभएका पोखरेल नेपाली पत्रकारिता जगतमा एक विशिष्ट नाम हो । भाषासेवी शरच्चन्द्र वस्तीले पोखरेल नहुनुभएकाे भए नेपाली पत्रकारित आजकाे अवस्थामा आइनपुग्ने जिकिर गर्नुभएकाे छ ।

‘म गोकुल दाइकै कारण पत्रकारितामा प्रवेश गरेको हुँ । पत्रकारिताको ‘शिक्षा’ पनि गोकुल दाइबाटै पाएको हुँ । २०३६ सालको अन्त्यतिर गोरखापत्रमा गोकुल दाइले लिनुभएको त्यो अनौपचारिक ‘क्लास’, जुन तीन दिनसम्म करीब आधा आधा घण्टा चलेको थियो र जसमा म एक्लो विद्यार्थी थिएँ, मैले जिन्दगीमा पाएको पत्रकारिताको एकमात्र प्रशिक्षण हो । ‘गोरखापत्र’मा, ‘समाज’ मा, ‘नेपाल प्रेस इन्स्टिच्यूट’ मा र अरूतिर पनि मैले गोकुल दाइको सहयोगी, सहकर्मीका रूपमा लामो समय काम गरें । हाम्रो सम्बन्ध परिवारिक जस्तै थियो, बुबाहरूकै पालादेखिको ।’, वस्तीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘गोकुल दाइ नहुनुभएको भए (र उहाँले २०४१ सालमा प्रेस इन्स्टिच्यूट स्थापना नगर्नुभएको भए) नेपाली पत्रकारिता आजको अवस्थामा कदापि आइपुग्ने थिएन ।’