वाशिंटन डिसी । साहित्यकार पुष्पा खनालको “प्यासी” बोलको गीत विश्वका उत्कृष्ट दश गीतमा चयन हुन सफल भएको छ । वर्ल्ड सङ राइटिङ एवार्ड अमेरिकाले आयोजना गरेको विश्वव्यापी प्रतियोगितामा खनालको उक्त गीत उत्कृष्ठ १० मा पर्न सफल भएको हो ।

विश्वभरिका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा परेको हो । उक्त गीतमा ज्योति प्रकाशकाे संगीत तथा बेनिषा पौडेलकाे स्वर रहेको छ ।

वर्ल्ड सङ राइटिङ एवार्ड अमेरिकाले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने गीतलाई सम्मानसहित विश्वस्तरको गीतको मान्यता प्रदान गर्ने प्रावधान छ ।

सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलोपटक सहभागिता जनाएकी थिइन् । पहिलो सहभागितामै उत्कृष्ट १० मा पर्न सफल पुष्पा भन्छिन् – ‘यो मेरो पहिलो सहभागिता थियो, उत्कृष्ठ १० मा पर्न सफल भएँ । निकै खुसी छु ।’

लगभग तीन दशकदेखि गीत र कविता लेख्दै आएकी पुष्पाका दुई गीत सङ्ग्रह, दुई एल्बम र सयौं फुट्कर गीत तथा कविताहरू विभिन्न साहित्यिक र प्रमुख मिडियामा प्रकाशित छन् । पुष्पा साहित्यका विविध विधामा कलम चलाउने कुशल साहित्यकार पनि हुन् ।

डी पुष्पा क्रियशन नामको युट्यूब च्यानलबाट उनले वाचन गरेका पुस्तकहरू लोकप्रिय छन् ।

पुष्पाले वाचन गरेको ‘डोल्पो, ओ डोल्पो’ इबुकको शृङ्खला निकट भविष्यमै साहित्यपोस्टले प्रसारण गर्ने छ ।