नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङले यस वर्षकाे डा. पारसमणि प्रधान पुरस्कार वरिष्ठ कथाकार प्रदीप गुरूङलाई दिने घोषणा गरेको छ । नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङका महासचिव बलभद्र शर्माले पुरस्कारको घोषणा गरेका हुन्।
निर्णायक समितिको सभाले नेपाली साहित्यमा उत्कृष्ट योगदान पुर्याउने र दीर्घकालसम्म साहित्य सेवामा रहेका प्रदीप गुरूङलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्यमा प्रदीप गुरूङ एक परिचित नाम हो । प्रदीप गुरूङको जन्म २१ अक्टोबर, १९५४ मा मिरिकमा भएको हो । उनका मातापिताको नाम स्व. दीपकला गुरूङ र स्व. नरबहादुर गुरूङ हो । उनले नेपाली विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् । दुई वर्ष गान्तोकमा सरकारी सेवा गरेपछि उनले १९८० देखि जुद्धवीर हाइ स्कुलमा शिक्षण कार्यको थालनी गरेका हुन् । सन् १९९७ देखि भने उनी यसै विद्यालयका प्रधानाध्यापक रही २०१४ मा सेवानिवृत्त भएका छन् ।
साहित्यका अध्येता तथा सर्जक हुन् गुरूङ कथाकार, उपन्यासकार र कवि हुन् । हालसम्म उनका सातवटा पुस्तक प्रकाशित भएका छन् । उनका प्रकाशित पुस्तकहरूमा ‘असुरक्षित’ (कथासङ्ग्रह, १९८०), यस्तै अनि यस्तै (कथासङ्ग्रह, २००१), बिरिमफूल (कथासङ्ग्रह, २००६), पोस्टर र लात (सूत्र उपन्यास, (२०१०), प्रेमिल (कवितासङ्ग्रह, २०१५), बैरीमाया (कथासङ्ग्रह, २०१६), एक सब्तु सपना (कथासङ्ग्रह, २०२३) रहेका छन् ।
आगामी २६ फरवरी, २०२४ का दिन कालिम्पोङको रामकृष्ण रङ्गमञ्चमा भव्य समारोहका बिच पुरस्कार प्रदान गरिन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।