३७ वर्षपछि निबन्ध गोष्ठी आयोजना गरिएको छ । नेपाल स्रष्टा समाजले १७ औं वार्षिकोत्सवको अवसर पारेर निबन्ध गोष्ठीको आयोजना गरेको हो ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठले २०४३ सालमा निबन्ध गोष्ठी आयोजना भएपछि हालसम्म नभएको बताए । निबन्धप्रति आम मानिसको चासो नभएकाले अहिलेसम्म यस्तो गोष्ठी हुन नसकेको उनको भनाइ थियो ।
केही समय पहिलेदेखि नै गोष्ठी गर्ने सोच आए पनि समय अहिलेमात्रै जुरेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले विद्यालय तहदेखि नै निबन्धप्रति मान्छेमा निराशा बढेको उल्लेख गरे । यस्ता गोष्ठीले निबन्धको गरिमालाई बढाउन सफल हुने उनको धारणा थियो ।
निबन्ध मौलिक र रोचक हुनेपर्ने उल्लेख गर्दै उनले भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा लगायतका निबन्धले मानिसलाई झङ्किृत गराउने बताए ।
अर्का अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले ३७ वर्षपछि निबन्ध गोष्ठी गर्ने श्रेय लिएकोमा नेपाल स्रष्टा समाजलाई धन्यवाद ज्ञापन गरे । अघिल्लो वर्ष निक्कै धेरै निबन्ध ग्रन्थ निस्किएकाले नयाँ पुस्ता र लेखकमा तागत बढेको उनले उल्लेख गरे ।
गोष्ठीमा श्रीबाबु कार्की, मोहन चापागाईं, रञ्जना निरौला, ज्ञानेन्द्र विवस, कुमारी लामा, मित्रलाल पंज्ञानी, टंक उप्रेती, डा. गीता त्रिपाठी, विनयकुमार शर्मा, डा. रजनी ढकाल, ज्ञानु अधिकारी, मोमिला, भीष्म उप्रेती, मुकुन्दराज शर्मा लगायतले निबन्ध वाचन गरेर सुनाएका थिए ।
समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको आज तेस्रो दिन हो ।
पहिलो दिन पाटन दरबार स्क्वायरमा पर्या तथा सम्पदा कविता गोष्ठी, दोस्रो दिन प्रशिद्ध कँडेल सम्मान अर्पण तथा कविता वाचन र आज निबन्ध गोष्ठी सम्पन्न भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।