कवि प्रदीपरत्न शाक्यकृत कवितासङ्ग्रह ‘म सडकको प्रतिविम्ब’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । जूम क्याफे चाबहिलमा आयोजित एक कार्यक्रमका बिच सो कवितासङ्ग्रहको परिचर्चा सम्पन्न भएकाे हो ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कवि शाक्य कवितामाथि समालोचकीय दृष्टिले हेर्दा उनी सालीन, भद्र र नरम मिजासका कवि हुनाका साथै समयप्रतिको विद्रोह र असन्तुष्टिलाई पनि सरल भाषामा व्यक्त गर्नसक्ने शिल्प रहेको कवि भएको थाहा लाग्ने बताए । ‘३० का दशकका कविहरूले राजनीतिक हस्तक्षेपका विद्रोहमा सशक्त कविता लेख्ने गर्थे भने हालका कविहरूले सीमान्तवर्ग तथा पिछडिएका आदिवासीको आवाज पनि उठाउने गरेका छन् र त्यो आवाज पनि कवि शाक्यको कवितामा मुखरित भएको छ ।’ उनले भने ।

अर्की समालोचक डा. कान्छी महर्जनले कवि शाक्यका कविता सरल, मिठासपूर्ण रहेको बताउँदै जीवन भोगाइका कुराहरूलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको भए पनि सङ्ग्रहमा नेवारी संस्कृतिको विषयवस्तु उल्लेख नभएको बताइन् ।

प्राज्ञ ध्रुव मधिकर्मीले कवि शाक्य नवोदित भए पनि स्थापित कवि भएकाे बताए । कवितालाई फरक फरक समयका अनुभूतिमा पढ्दा त्यसको बेग्लै प्रभाव पर्ने उनको मत थिए ।

प्रकाशकका तर्फबाट परशुराम पराशरले आफूले कवि शाक्यको कवितासङ्ग्रहको भाषा सम्पादन मात्र गरेको कुरा बताउँदै कविताहरू सरल तर प्रभावशाली रहेको बताए।

कार्यक्रममा कवि शाक्य कवितासङ्ग्रहबाट कविहरू प्रोल्लाश सिन्धुलीय, प्रकाश रम्घाली, रञ्जु दाहाल, नारद बज्राचार्य, अनिता यात्री तथा कवि शाक्य स्वयम्ले कविता वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू युवराज मैनाली, बैरागी जेठा, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, ईश्वर लामिछाने, उद्धवगोपाल श्रेष्ठ, भगतदास श्रेष्ठ, मिशन अधिकारी, अच्युत घिमिरे, शारदा पराजुलीलगायत साहित्यानुरागीहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन कवि तथा आख्यानकार प्रोल्लाश सिन्धुलीयले गरेका थिए ।

कवितासङ्ग्रह ‘म सडकको प्रतिविम्ब’लाई अभिनव साहित्य समाजले प्रकाशनमा ल्याएकाे हाे ।