कोरियामा विविध कार्यक्रमका साथ मातृभाषा दिवस मनाइने भएकाे छ । नेपाल आदिवासी जनजाति साहित्यकार, लेखक महासंघ दक्षिण कोरियाले आगामी अन्तर्राष्ट्रिय मातृभाषा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने तयारी गरेकाे हो ।

डिसेम्बर १७ मा बसेको महासंघको बैठकले हरेक वर्ष फेब्रुअरी २१ मा मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवस यो वर्ष अनलाइन र भौतिक उपस्थितिका माध्यमबाट विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने निर्णय गरेको छ । कार्यक्रम अवधिमा मातृभाषासम्बन्धी छलफल, अन्तरक्रिया तथा मातृभाषा साहित्यका विषयमा विमर्श, मातृभाषामा रचना वाचनजस्ता कार्यक्रमहरूसहित अन्तिम दिन भौतिक उपस्थितिसहितको कार्यक्रम गरिनेछन् ।

सन् १९५२ मा तत्कालिन पुर्वी पाकिस्तान (हाल बंगलादेश) मा मातृभाषा बोल्न पाउनुपर्छ भन्ने अभियानमा लाग्ने विद्यार्थी मारिएपछि सोही स्मृतिमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले यो दिनलाई विशेष दिन भनी घोषणा गरेको थियो भने सन् २००० मा संयुक्त राष्ट्र संघले फेब्रुअरी २१ ला अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मान्यता दिएपछि यो दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ ।