प्रहरी नायब महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह विमोचन भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बिच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सो कृतिकाे विमोचन गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै आइजिपी कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताए ।

कुँवरले प्रहरी सेवा र साहित्य फरक विधा जस्तो लागे तापनि कला, साहित्य र सिर्जना हरेक कार्यप्रकृतिसँग अन्तर्सम्बन्धित रहने बताए । नागरिक सेवामा खटिँदा देखे/भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपुर सुगन्ध पस्केको उल्लेख गरे ।

नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासङ्ग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको उनले बताए ।

उक्त अवसरमा डा. ध्रुवचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्य कर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे । साथै, राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताको चर्चा गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाश प्राप्त एवम् बहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू लगायतको उपस्थिति रहेको थियो ।