युवा कवि निर्भीकजंग रायमाझीको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ । सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई, कवि मोमिला तथा कवि श्यामलले सङ्ग्रहको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कवि श्यामलले भित्री मनसम्म लैजाने‌ शक्ति निर्भीकका कवितामा रहेको बताए । लय व्यवस्था गरी कविता लेख्ने निर्भीकभित्र क्रियटिभ पागलपन रहेको उनले बताए । सिर्जनाका निमित्त पागलपन जरुरी हुने बताउँदै उनले ‘त्यसरी त कहिल्यै सोचिएन’ पछिल्लो समयको बलियो हस्तक्षेप भएको बताए।

यस्तै, कवि मोमिलाले निर्भीक थोरै शब्दमा धेरै भाव अटाउने सामर्थ्य राख्ने कवि भएको बताइन् । उनले भनिन्, ‘निर्भीकका कविता पढ्दा समय खेर फालिरहेका हुँदैनौँ, कविता सेलिब्रेट गरिरहेका हुन्छौँ ।’

यसैगरी, कवि भूपाल राईले निर्भीकलाई सुरुमा पत्रकारको रूपमा चिनेको बताए । उनले भने, ‘खरिलो प्रश्न गर्ने एक युवाको रूपमा सुरुमा मैले निर्भीकलाई चिनेको हुँ, त्यसपछि उनका कविता पढेँ । ईर्ष्यालाग्दो लेखन छ उनमा । म धेरै प्रभावित भएँ ।’

निर्भीकको यो पहिलो प्रकाशित एकल कृति हो । एक दशकदेखि कविता लेखनमा सक्रिय निर्भीकजंगका कविता, निबन्ध तथा रिपोर्टिङहरू सञ्चार माध्यममा प्रकाशित छन् ।

प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा लेखिएका ५० थान कविता ‘त्यसरी त कहिल्यै सोचिएन’ सङ्ग्रहमा सङ्कलित छन् । कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३ सय ७५ रुपैयाँ राखिएको छ।