असम । पुष्पलाल स्मृति अध्ययन गोष्ठी, तेजपुर, असमको एउटा विशेष बैठकमा असमका वरिष्ठ कवि मोहन सुवेदीको कवितासङ्कलन ‘सुगन्धी माटो’ पाठकलाई समर्पित गर्दै लोकार्पण गरिएको छ । ब्रह्मपुत्रको बगरमा पुस्तक लोकार्पण गर्दै पाठकहरूमा समर्पण गरिएकाे हाे ।

सुगन्धी माटोफराकिलो बगरमा, तेजपुरको कलियाभुमुरा पुलको नजिक खुल्ला आकाशमुनि अनुष्ठित बनभोजको आयोजनसितै गोष्ठीको सभामा यस कृतिको लोकार्पण  वरिष्ठ साहित्यकार तथा गोष्ठीका संस्थापक अध्यक्ष प्रा. जयनारायण लुइँटेलले गरेका हुन् ।

बगरमा आयोजन गरिएको त्यस अनुष्ठानमा गोष्ठीका सबै स्थायी सदस्य र उहाँहरूका परिवारका अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।

गोष्ठीका मूल सचिव मुक्ति लुइँटेलको आह्वानमा तथा गोष्ठीका अध्यक्ष मोहन सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कृतिमाथि छोटो समीक्षा समालोचक प्रा. कमल सेढाईंले प्रस्तुत गरेका थिए । कृतिमाथि लोकनाथ उपाध्याय, नवप्रभा अधिकारी,  लावण्य देवी , कमला देवी, महिम आचार्य आदि साहित्यकारहरूले आ-आफ्नो वक्तव्य राखेका थिए ।

सङ्ग्रहित कविताहरूमा समकालीन समाजमा हराउँदै गएको मानवीय मूल्यबोध साथै आर्थ-सामाजिक, सांस्कृतिक र राजनैतिक विकृति र विसङ्गतिको बारेमा सम्प्रेषणीयरुपमा समावेश भएको पाइन्छ । कविता सङ्ग्रहमा समकालीन विभिन्न विषय र प्रवृत्तिमाथि लेखिएका बाउन्न ओटा कविता सङ्गृहित छन् ।

विगत चार दशकदेखि निरन्तर कविता लेख्दै आएका भारतेली नेपाली साहित्यका वरिष्ठ कवि मोहन सुवेदीको यो चौथो काव्यकृति हो। सुवेदी प्रकाशन, लङ्का, असमको भएर पूर्वायन प्रकाशन, गुवाहाटीले प्रकाशित गरेको र आकर्षणीय कलेवरसहित ८० पृष्ठ रहेको यो कृतिको मूल्य २ सय रूपियाँ रहेको छ।