नेपाल स्रष्टा समाजले सत्रौं स्थापना दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्वर्द्धन तथा विकासमा योगदान पुर्याउने उद्देश्यले २०६४ पुस १६ गते समाजकाे स्थापना भएको थियाे ।
नेपाल स्रष्टा समाजमा २ सय सत्तहत्तर स्रष्टा आजीवन सदस्य छन् भने यसको प्रादेशिक तहमा पनि विस्तार भएको समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले बताए। अध्यक्ष ‘रोदन’काे अनुसार प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा २०८० पुस १३ गते दिउँसो २ बजेदेखि पाटन सङ्ग्रहालयमा सप्ताहव्यापी कार्यक्रमको उद्घाटनकाे साथ पत्रिका विमोचन र पर्या कविगोष्ठी हुने भएकाे छ।
त्यस्तै, दोस्रो दिन पुस १४ गते युवा कवि देवु लुइँटेललाई प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान -२०८० प्रदान गरिने भएको छ। उक्त कार्यक्रम काठमाडौ, बानेश्वर शङ्खमुलस्थित अवरनेश इन्टर्नेशनल एकेडेमीमा दिउँसो २.३० बजेदेखि वरिष्ठ कवि मञ्जुलकाे प्रमुख आतिथ्यमा सम्पन्न हुने भएकाे छ।
तेस्रो दिन पुस १५ गते दिउँसो २ बजे प्राडा माधव पोखरेल प्रमुख आतिथ्यमा निबन्ध गोष्ठी हुँदैछ।
पुस १६ गते प्राडा अभि सुवेदी प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठान दिउँसो १ बजेदेखि कार्यक्रम हुने भएकाे छ। साे दिन सत्रौं वार्षिक सभा तथा २०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई अर्पण समारोह गरिने भएको छ।
नियमित कार्यक्रम अन्तर्गत पाँचाै दिन पुस १७ गते दिउँसो १२.३० बजेदेखि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा प्रेस काउन्सिल नेपालको सभाकक्षमा साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी हुने भएकाे छ।
छैटाैं दिन पुस १८ गते दिउँसाे १ बजेदेखि बाैद्धस्थित अरुणिमा उच्च माध्यमिक विद्यालयमा स्रष्टासँग विद्यार्थीहरूकाे अन्तर्क्रिया हुने भएकाे छ ।
पुस १९ गते साप्ताहिक कार्यक्रको समीक्षासहित स्रष्टा समाज नेपालकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन दिउँसो ३ बजे वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माकाे प्रमुख अतिथ्यमा सम्पन्न हुने भएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।