अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘मेघमानव’ उपन्यास एक कार्यक्रमका बिच लोकार्पण गरिएकाे छ । नेपाली लेखक सङ्घको आयोजनामा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठको सभापतित्व तथा आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा सो उपन्यासको लोकार्पण गरिएकाे हाे ।

कमलादीस्थित यूनिग्लोब कलेजमा सम्पन्न सो कार्यक्रममा मञ्चमा आसीन व्यक्तित्वहरूले उपन्यास ‘मेघमानव’को संयुक्त विमोचन गरेका हुन् । बाह्र वर्षकै उमेरमा ‘पञ्चमणि’ नामक उपन्यास लेखेर प्रकाशन गरेका अर्चितबाबु मर्सिफुलको यो दोस्रो उपन्यास हो ।

‘संसारमा सानै उमेरमा धेरै प्रतिभाहरू उदाएका छन् । कसैले उचित मौका र स्थान प्राप्त गर्न सकेका छन् त कसैले सकेका छैनन् ।’, कार्यक्रममा सभापतिको कवि तीर्थ श्रेष्ठले भने, ‘अर्चित बाबुको हकमा उनका अभिभावकले त्यो मौका उपलब्ध गराएका छन् । उपन्यासमा नयाँ दृष्टिकोण तथा नयाँ ढङ्गले सामाजिक एवम् राजनीतिक विषयवस्तुलाई उठाइएको छ ।’

समालोचकीय मन्तव्य व्यक्त गर्दै डा.शैलुन्दुप्रकाश नेपालले अर्चितबाबुले सानै उमेरमा देशको राजनीतिक, सामाजिक एवम् ऐतिहासिक कुराहरूलाई सरल भाषामा उपन्यासमार्फत प्रस्तुत गरेर एउटा अभिलेख खडा गरेको बताए । त्यसैगरी, अर्का समालोचक डा. अनुपमा रेग्मीले लेखकले सरल भाषा तथा मीठो शब्दको चयन गरी उपन्यासद्वारा साहित्य र राज्यलाई शक्तिशाली बनाउने प्रयास गरेको बताइन् ।

उपन्यासकार अर्चितबाबु मर्सिफुलले आफ्नो लेखनयात्राबारे बोल्दै दन्त्यकथा कथा, महाभारतजस्ता कथाहरू सुनेर आफू प्रभावित तथा प्रेरित भएको कुरा बताउँदै पहिलो उपन्यास लेखन र प्राप्त हौसलाबाट’ मेघमानव’ लेख्न सफल भएको बताए ।

कार्यक्रममा अन्य साहित्यकारहरू बलदेव शर्मा मजगैया, नरेन्द्रबहादुर श्रेष्ठ, कलानाथ दाहाल, युवराज मैनाली, शंकर भारती, वियोगी बुढाथोकी, जयदेव भट्टराई, नरेन्द्र पौडेल, विनोद नेपाल, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, सन्ध्या पहाडी, गोकुल अधिकारी, दुर्गाकिरण तिवारी, मन्दिरा मधुश्री, मुकुन्दलगायत अन्य साहित्यप्रेमी तथा पारिवारिक सदस्यहरू एवम् पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. रत्नमणि नेपालले स्वागत मन्तव्य राखेका थिए भने यूनिग्लोब कलेजका एक्जुकेटिभ डाइरेक्टर मनसुन के.सी.ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन श्रीबाबु कार्कीले गरेका थिए ।