साहित्यकार विष्णु भण्डारीले कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ प्रकाशनमा ल्याएका छन् । जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ कथा सङ्गृहित अरुन्धतीको मृत्यु भण्डारीले हालै प्रकाशनमा ल्याएका हुन् ।
भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थ खोतल्ने काेसिस गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनावटी नभई तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित रहेका छन् । नेपाली युद्धसाहित्यमा बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य मात्र नभएर युद्धपछिको साहित्यमा पनि काम गर्दै आएका छन् ।
यसपछि आउने उनको कथा कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा हुने उनले जनाएका छन् ।
चालिसको दसकदेखि कविता लेख्दै आएका भण्डारी सत्तरीको दसक यता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी उनका १२ कृति प्रकाशित छन् ।
‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका रुचाइएका उपन्यास हुन् । केही महिनाअघि उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो।
कथासङ्ग्रह ‘भुँडी पुराण प्रकाशन’ ले बजारमा ल्याएको हो । सुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य ३५०/- रूपैयाँ राखिएको छ।
औपचारिक विमोचन कार्यक्रम नगरी सार्वजनिक गरिएको ‘अरुन्धतीको मृत्यु’ आजबाटै बजारमा उपलब्ध हुनेछ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।