साहित्यकार प्रीति आत्रेय ज्ञवालीको मुक्तकसङ्ग्रह ‘चुटुक्क’ सार्वजनिक भएको छ । राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमका बीच उक्त मुक्तकसंग्रहको लोकार्पण गरिएको हो ।
पुस्तक सर्जक प्रीति आत्रेय ज्ञवाली, प्रमुख अतिथि डा. रेणुका सोलु, समीक्षक कल्पना काफ्ले, सभापति ममता मृदुल एवं अतिथिको आसनमा सर्जककी माता आर्या आत्रेय (संरक्षक, प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठान ) गरी पाँच नारीहरू मञ्चमा अवस्थित थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकोटी चौघरेबाट भएको थियो ।
वटुकहरूबाट मंगलाचरण र स्वस्तिवाचन गरी प्रमुख अतिथिबाट पानसमा दीप प्रज्जवलन एवं सबै मञ्चासीन व्यक्तित्वबाट प्रा.डा. विष्णुराज आत्रेय लाटोसाथीको फोटोमा पुष्प अर्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सबै मञ्चासीन व्यक्तित्वका साथै प्रा.डा. अलका आत्रेय चुँडाल, श्री बाबुराम ज्ञवाली र प्रशस्ति ज्ञवालीबाट पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।
कार्यक्रममा ‘हामी र हाम्रो कृति’ समूहका अध्यक्ष मदनप्रसाद नेपालले समूह र सार्वजनिक कृतिबारे जानकारी गराएका थिए । साहित्यिक संघसंस्थाका प्रतिनिधिसहित विविध अतिथिहरू सम्मिलित कार्यक्रममा सर्जकलाई कृतिगत शुभकामनाका साथै सर्जकको विमोचित कृति चुटुक्कबाट केही मुक्तकहरुको पनि वाचन गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रा.डा.भागवत ढकाल, प्रा.डा.अलका आत्रेय चुडाल, बमबहादुर थापा जिताली, डा.सीता सुवेदी पन्थी, अर्जुन कुमार गोगने, भरत रिजाल, सिर्जना ज्ञवाली, सन्तोष खत्री, बद्री उप्रेती, नम्रता उप्रेती, बाबुराम ज्ञवाली, प्राप्ति अर्याल, समीक्षा शर्मा भुर्तेल, प्रशस्ति ज्ञवाली आदि वक्ताहरूले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
समीक्षक कल्पना काफ्लेले कृतिबारे आफ्नो अवधारणा प्रस्तुत गरेकी थिइन् भने प्रमुख अतिथि डा. रेणुका सोलुले मुक्तकभित्र लुकेका भाव र अभिव्यक्तिहरूको खुलेर चर्चा गरेकी थिइन् ।
सावित्री अधिकारीले कार्यक्रममा स्वागत भाषण गरेकी थिइन् भने ममता मृदुलले कार्यक्रमको सभापतित्व गरेकी थिइन् । कार्यक्रम प्रस्तोता भुवन सिवाकोटीले सर्जकलाई गीति शुभकामना पनि लयात्मक ढंगले वाचन गरेका थिए भने पुस्तककी सर्जक प्रीति स्वयंले मुक्तक लेखन र पुस्तक प्रकाशन गर्दाका आफ्ना अनुभवबारे व्यक्त गरेकी थिइन् ।
ज्ञवालीको यसअघि कवितासंग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक भएको थियाे । उनका गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत प्रसारित छन् ।
हाल कम्बोडियामा रहेकी आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील छिन् । उनी नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।