चार वेदका अनुवादक तिलक लुइटेलको निधन भएको छ। मिर्गौला सम्बन्धी रोगबाट ग्रसित लुइटेलको मंगलबार बिहान ७ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

काठमाडौं बूढानीलकण्ठ नगरपालिका, कपन निवासी लुइटेलको मंगलबार बिहान निधन भएको हो।

उहाँका छोरा विभवका अनुसार शुक्रबारदेखि श्वासप्रश्वास समस्या देखिएपछि उहाँलाई आईसीयुमा राखिएको थियो।  सोमबार स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो।

एउटा मिर्गौलाले काम नगरेपछि नेपाल मेडिकल कलेज जोरपाटी हुँदै उहाँलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएको थियो।  एउटा मिर्गौला फेल भएर अर्कोले काम नगरेपछि उहाँलाई बचाउन करिब एक महिना अगाडिदेखि आर्थिक सहयोगका लागिसमेत आह्वान गरिएको थियो।

२०१९ साल वैशाख १ गते जन्मनु भएका लुइटेलको ६१ वर्षको उमेरमा निधन भएको हो।   ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्तलगायत संस्कृत भाषाका कृति नेपालीमा अनुवाद गर्नुभएको छ।  उहाँले अनुवाद गर्नुभएका चार वेद नेपाली भाषा र साहित्य क्षेत्रका चर्चित कृति हुन्।