
दोलखा / दोलखाको शैलुङको सांस्कृतिक पर्यटन प्रवर्द्धनको लागि कवितायात्रा सुरु भएको छ । शैलुङ सांस्कृतिक र प्राकृतिक रुपमा सुन्दर रहेकाले यसको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्न कवितायात्रा– २०८०’ आयोजना गरिएको हो ।
साहित्यिक पत्रकार संघले आयोजना गरिएको उक्त कवितायात्रा दोलखामा दोस्रो पटक हो । विगत ४० वर्षदेखि आयोजना गर्दै आएको कवितायात्रा यो वर्ष दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ मा रहेको पर्यटकीय केन्द्र शैलुङमा गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भयो ।
साहित्यिक पत्रकार संघले २०४० सालदेखि आयोजना गर्दै आएको कवितायात्रा दोलखाकै पर्यटकीय स्थानजिरीमा २०४२ सालमा आयोजना गरिसकिएको अध्यक्ष लेकालीले बताउनु भयो । साहित्यकारले देशको परिस्थिति, नागरिकको अवस्थिति, प्राकृतिक सुन्दरता, जनजीवन जस्ता सबै विषयको प्रत्यक्ष अनुभव गर्न सकेको अवस्थामा अझ उत्कृष्ट रचना, कृति आउनसक्ने विश्वाससहित साहित्यिक पत्रकार संघले साहित्यकारहरूलाई देशको विभिन्न ठाउँमा प्रत्यक्ष पुगी कवितायात्राको सुरुवात गरेको लेकालीले बताउनु भयो । ‘कवितायात्रा– २०७९’ इलाममा आयोजना गरिएको संघले जनाएको छ ।
कवितायात्रा कार्यक्रम शैलुङ गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष धनबहादुर तामाङको अध्यक्षता र वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कवितावाचनसमेत गरिएको थियो ।
कार्यक्रम आयोजनाको लागि शैलुङ गाँउपालिका वडा नम्बर ८ र एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीले आर्थिक लगायतका सहयोग गरिएको थियो । ‘कवितायात्रा २०८०’ मा सहभागी साहित्यकारहरूले शैलुङको भ्रमणपछि संस्मरण लेख्ने र त्यसलाई पुस्तकको रुपमा प्रकाशन गर्ने बताइएको छ ।
जीवन लामाको रिपोर्ट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

