जगदीश स्मृति (जगदीश नेपाली स्मृति) ग्रन्थ सामाजिक विकास समाज भवन अनामनगर, काठमाडौँमा लोकार्पण भएकाे छ । प्रमुख अतिथि प्राडा. दयाराम श्रेष्ठ, विशिष्ट अतिथि प्राज्ञ आरडी प्रभास चटौत, प्राडा. माधवप्रसाद पोखरेल, सिनेमा निर्देशक, निर्माता एवम् गीतकार यादव खरेल र कार्यक्रमका सभाध्यक्ष सीता बस्नेत सापकोटाले कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

कृति विमोचनपछि प्रमुख अतिथि श्रेष्ठले लघुकथा लेखनमा जगदीश नेपालीले बीसको दशकदेखि कलम चलाई लघुकथा लेखनमा महत्त्वपूर्ण योगदान गरेको कुरा गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

विमोचनपछि साहित्यकार प्रह्लाद पोख्रेल, लव गाउँले, गोपी मैनाली, यादव खरेल, डा. तुलसी भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा. माधवप्रसाद सापकोटा, आरडी प्रभास चटौतले कृतिका लागि सामग्री सङ्लकन गरी सम्पादन गर्नुहुने महेश प्रसाईँ र प्रकाशन गर्नुहुने सीता बस्नेत सापकोटाको श्रद्धाले जगदीशलाई लामो समयसम्म स्मरण गराउने बताए ।

वक्ताहरूले जगदीश नेपाली (१९८२-२०३८) ले नेपाली समाज सुधार गर्नेदेखि लिएर विद्यालय स्थापना, सिनेमा हल स्थापना र राजनीतिक क्षेत्रमा पनि उल्लेखनीय भूमिका खेल्नुभएको कुरा मन्तव्यका क्रममा वक्ताहरूले बताउनुभएको थियो ।

उक्त कार्यक्रममा वैदिक सनातन हिन्दु, बौद्ध र किराँत धर्म अमेरिकामा प्रचार गर्ने अभियन्ताका रूपमा कार्यक्रमका सभाध्यक्ष सीता बस्नेत सापकोटालाई दोसल्ला, रामनामी, रुद्राक्षको मालासहित सम्मानपत्र प्रदान गरिएको थियो ।

एकादशी साधना परिवारका संरक्षक पण्डित दुर्गाहरि नेपालले उक्त सम्मानपत्र अर्पण गरेका थिए ।

कार्यक्रममा उपस्थित तथा पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैलाई सम्पादक महेश प्रसाईँले हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

जगदीश नेपालीकी बुहारी एवम् प्रकाशक सीता बस्नेत सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दिव्य गिरी, किशोर पहाडी, प्रमोद प्रधान, लता केसी, सत्या अधिकारी निर्मला बराल, प्रकाश घायल, अश्विनी कोइराला, रासा, ध्रुव मधिकर्मी लगायत जगदीश नेपालीका परिवारहरूको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन डा. शेखरकुमार श्रेष्ठले गरेका थिए ।