बसन्त चौधरीले कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । साहित्यकार तथा उद्यमी चौधरीले अन्तर्वार्तामा आधारित श्रव्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सञ्चालनको घोषणा गरेका हुन् ।

उक्त कार्यक्रम  सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे प्रसारण हुनेछ ।

‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन्। तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भनेका छन् ।

उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईंका मनका कुरा सुन्न मन लाग्यो । तपाईंका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’

उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्कने छन् । मनिषा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुषी राणा, वरिष्ठ कलाकार नीर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणालगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रसारण गरिने छ।

२२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिषा कोइराला रहनेछिन् ।