बालागुरु षडानन्द पुरस्कारबाट प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट र वरिष्ठ साहित्यकार परशु प्रधानलाई प्रदान दिएको छ । बालागुरु अधिकारीको १८९ औँ जन्म जयन्ती तथा आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानको १६ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रतिष्ठानले भट्ट तथा प्रधानलाई पुरस्कार प्रदान गरेकाे हाे ।
१८८ वर्ष पहिले भोजपुरको दिङलामा जन्म लिएर पूर्वमा शिक्षाको ज्योति फैलाउन महत्त्वपूर्ण योगदान दिने आबाल ब्रम्हचारी षडानन्द अधिकारीको नाममा स्थापित प्रतिष्ठानले राष्ट्रिय पुरस्कार प्राध्यापक भट्ट र क्षेत्रीय पुरस्कार वरिष्ठ साहित्यकार प्रधानलाई प्रदान गरेको हो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति जगमान गुरुङ तथा प्रतिष्ठानका अध्यक्ष एवं समारोहका सभापति प्रा. चेतोनाथ गौतमद्वारा पुरस्कार विजेतालाई नगद तथा सम्मान अर्पण गरिएकाे थियो ।
प्रतिष्ठानले प्रदान गरेको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रा. भट्टले त्रिभुवन विश्व विद्यालयमा २०२२ साल देखि नवन्यायको उपप्राध्यापकको रूपमा काम गर्दै पछि वाल्मिकी विद्यापीठको प्रमुख, संस्कृत अध्ययन संस्थानको सहायक डिन तथा महेन्द्र संस्कृत विश्व विद्यालयको प्रथम शिक्षाध्यक्षको रूपमा सेवा गरेका छन् । ८३ वर्षीय प्रा. भट्टले तन्त्रशास्त्रका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका छन् ।
कोसी प्रदेश वा नेपालको पूर्व क्षेत्रमा जन्मेर नेपालको साहित्यमा विशेष सेवा पुर्याएका परशु प्रधान नेपाली साहित्य क्षेत्रमा एक अद्वितीय आख्यान प्रतिभा हुन् । असी वर्षीय प्रधानको करिब ६ दशक लामो साहित्य सेवामा एक दर्जन बढी कथा संग्रह, दुई उपन्यास, कथोपन्यास, रचना गर्भका साथै दर्जनौँ बाल साहित्यका पुस्तक प्रकाशित छन् ।
षडानन्द राष्ट्रिय पुरस्कार एक लाख रुपैयाँ तथा क्षेत्रीय पुरस्कारको रकम ५१ हजारको रहेको छ ।
समारोहमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित विभिन्न व्यक्तिलाई प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
पूर्वाञ्चलको साहित्य, शिक्षा तथा संस्कृतिमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने आबाल ब्रम्हचारी क्षेत्रीय पुरस्कारको स्थापना भोजपुर, दिङलाका डण्डपाणी–युवाकुमारी चापागाईंको स्मृतिमा उक्त स्वर्गीय जोडीका पुत्रद्वय निरञ्जन चापागाईं तथा गायत्री कुमार चापागाईंले गरेका हुन् ।
पुरस्कार प्रदान गर्ने समारोहमा प्रा. भट्टका विषयमा डा. माधव प्रसाद तिमिल्सिनाद्वारा तयार पारिएको परिचय वाचन गरिएको थियो भने वरिष्ठ साहित्यकार पवन आलोकद्वारा कथाकार परशु प्रधानको परिचय प्रस्तुत भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।