लेखक राजु अधिकारीको अङ्ग्रेजी उपन्यास ‘द लास्ट ड्रिम’ प्रकाशित भएको छ । नेपाली र अङ्ग्रेजी भाषामा लेख्दै आएका अधिकारीको दोस्रो अङ्ग्रेजी उपन्यासका रूपमा यो उपन्यास प्रकाशनमा आएकाे हाे ।
युद्धमा बालबालिकालाई पर्ने प्रभाव बारेमा लेखिएको उपन्यासमा युद्धले बालबालिकालाई कसरी नकारात्मक असर गर्छ र उनीहरूका सुन्दर सपनाहरू सत्यतामा परिणत नहुँदै कसरी अन्त्य गर्छ भन्ने दर्साइएको छ ।
औसतमा हरेक वर्ष कुनै न कुनै युद्धको कारणले संसारभरि तीस हजार जति बालबालिकाले मृत्यु वरण गर्छन् । त्यस्तै, संसारभरि पचास करोड जति बालबालिका युद्धको प्रत्यक्ष या अप्रत्यक्ष प्रभावमा पर्छन् । युद्धमा कुनै स्वार्थ नभएका, युद्धको बारेमा कुनै जानकारी नै नभएका अबोध बालबालिका युद्धबाट सबभन्दा बढी प्रभावित मध्येमा पर्छन् ।
युद्धको कारण बालबालिकामा पर्ने नकारात्मक प्रभावले उनीहरूको भविष्यलाई मात्र असर गर्दैन, यसले उनीहरूको परिवार, उनीहरूको समाज, उनीहरूको देश र संसारभरिका सबैलाई नै नकारात्मक असर गर्छ र युद्ध नरोकिंदासम्म यो दुष्चक्र रोकिँदैन । त्यसैले युद्ध रोकौं, पृथ्वीका भविष्यका आधार बालबालिका सुन्दर सपनालाई साकार पार्ने वातावरण बनाऔं भन्ने सन्देश लेखकले दिन खोजेका छन् ।
यसअघि अधिकारीले आफ्नो पहिलो अङ्ग्रेजी उपन्यास ‘कोरोनेसन’मा पशु अधिकारको पक्षमा मुद्दा उठाएका थिए ।
उपन्यासलाई थुप्रै डट कम ले प्रकाशनमा ल्याएको हो । थुप्रै डट कम बाट इ-बुक र अमेजनको वेबसाइट मार्फत इ-बुक तथा मुद्रित संस्करणमा उपन्यास संसारभरि उपलब्ध हुने कुरा प्रकाशकले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।