काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको नासो कथामा आधारित नाटक मञ्चन हुने भएको छ । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा पुस ४ गतेदेखि ७ गतेसम्म मञ्चन हुने भएकाे हाे ।

नासो, प्रसिद्ध कथाकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो । मैनालीको बहुचर्चित कथासङ्ग्रह नासोमा सङ्गृहित चर्चित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ । नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गर्ने बताइएको छ । अतः यो नाटकले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्नको लागि अझ सहज हुने जनाइएको छ ।

सद्भाव थिएटर– नेपालले सुरूवात गरेको “शिक्षाका लागि रङ्गमञ्च“ अभियानलाई निरन्तरता दिँदै कोलम्बस ईन्टरनेशनल स्कुल, मालीगाऊँको सहकार्यमा नाटक नासो यही पुषको पहिलो साता मञ्चन गर्ने भएको हो । नाटकमा नुबु शेर्पा, क्रीशा बरूवाल, सौगात कक्षपती, साइना स्याङ्ताङ्, युक्ती थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी लगायत सेजल काफ्लेको अभिनय रहनेछन् । यस नाटकको नाट्यरूपान्तरण तथा निर्देशन राम के.ए.सी.ले गरेका छन् भने सह–निर्देशन किरण चापागाईंको रहेको छ ।

४ दिनको लागि विषेश मञ्चन हुन लागेको यस नाटकको अवलोकनको लागि बुकिङ खुल्ला भइसकेको छ । ईच्छुक विद्यालयहरू, कलेजहरू लगायत अन्य दर्शकहरूको लागि समेत अवलोकन गर्न खुल्ला गरिएको उक्त नाटकको टिकट दर रू. ३००/– र रू. ५००/– निर्धारण गरिएको छ ।