साहित्यपोस्ट
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अंग्रेजी भाषामा मात्र राख्ने सर्वोच्चको फैसलामा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाउदै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, “ नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाट नै खेलाँचीका भरमा लागु गर्ने भन्ने असंवैधानिक फैसला कदापि मान्य हुने छैन ।”
उक्त सञ्जालले नेपाल राष्ट्र र नेपाली भाषाको पहिचान एवं सम्मानका खातिर उक्त अंग्रेजी इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न आम सावारी धनीलाई आग्रह गर्दै नेपाली भाषामाथि यस किसिमको दुष्कार्य नगर्न सम्बद्ध सबैलाई चेतावनी समेत दिएको छ । भनिएको छ, “यस सञ्जालको आग्रहलाई बेवास्ता गरिएमा यसबाट उत्पन्न दुष्परिणामप्रति सम्बद्ध निकाय नै जिम्मेवार हुनेछ ।”
“नेपालका सवारी साधनमा प्रयोग हुने भाषा विदेशीहरूका लागि नभएर मूलतः नेपालीहरूका लागि हो भन्ने स्पष्ट हुँदाहुँदै नेपाली भाषाका वर्णलेखनमा जटिलता रहेको भनी सर्वाेच्च अदालतबाट कुत्सित स्वार्थका कारण नेपालको राष्ट्रभाषा, माध्यमभाषा र सरकारी कामकाजको भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गरिनु घोर निन्दनीय र आपत्तिजनक कार्य भएको भनी विज्ञप्तिमा भनिएको छ । साथै, इम्बोस्ड नम्बर प्लेटबारे पहिलेको अन्तरिम आदेशलाई बदर गरी हालसालै गरिएको फैसला राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउनसमेत उक्त सञ्जालले आग्रह गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।