‘छेस्का साहित्य नेपाल’ले छेस्का कविता लेखनको चार वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । छेस्का साहित्य नेपालले ‘छेस्का कविता’ लेखन प्रारम्भ भएको दिन मंसिर २६ गते विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

‘छेस्का कविता’ समान पाँच अक्षरका तीन पङतीमा लेखिन्छ । कुल १५ अक्षरमा लेखिने ‘छेस्का कविता’मा विम्व र प्रतीकको आवश्यकता हुन्छ । अनुप्रासले यसलाई गेयात्मक बनाउने भएपनि प्रतीकात्मक सिर्जनामा अनुप्रास बाध्यकारी छैन ।

काव्य साहित्यको लघुतम उपविधा छेस्का कविता अन्तर्गत हालसम्म दुई एकल र एक सामुहिक गरी तीन कृति प्रकाशित भएका छन् । आकारमा सानो भएकाले हेर्दा सहज लागेपनि छेस्का कविता लेखन सजिलो छैन । गहन भावका अर्थपूर्ण, चोटिला र दीर्घजीवी छेस्का कविताका लागि शब्द भण्डार एवम् लेखन शिल्पको आवश्यकता हुन्छ ।

साहित्यमा रुचि राख्नेहरूलाई लेखनमा लाग्न उत्प्रेरित गर्ने खालको भएकाले यसप्रतिको आकर्षण बढ्दो छ । हाल झन्डै दुई सय सर्जकले छेस्का कविता सिर्जना गरिरहेका छन् । छेस्का साहित्य नेपालले पाक्षिक रूपमा ‘फेसबुक लाइभ’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा भएको छलफलबाट ‘छेस्का कविता’ लेखनलाई अझ व्यापक बनाउने, संयुक्त छेस्का कविता सङग्रह प्रकाशित गर्ने र छेस्का कविता प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।