काठमाडौं । इतिहासकार तथा समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तक, “Set Yourself Bigger Goals” अङ्ग्रेजीमा र “पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य”को नेपाली अनुवादको विमोचन भएकाे छ । काठमाडौंस्थित होटल येलो प्यागोडामा पाठकहरूको बाक्लो उपस्थितिमा यी दुई पुस्तककाे विमोचन सम्पन्न भएको हो ।
वक्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, सोधक तथा समृद्धि फाउन्डेसनकी निर्देशक अर्पिता नेपाल र लेखक राइनर जिटलम्यान स्वंयको सामिप्यतामा उक्त दुई पुस्तकहरुको विमोचन भएको हो ।
पुस्तकको अनुवादकहरू सकुनकुमार जोशी, टेक नारायण ढकाल, र नरेन्द्र विक्रम जि.सी. हुनुहुन्छ।
जर्मन लेखक जिटलम्यानका ३० देशहरुमा अनुवाद भइसकेका २७ ओटा किताबहरु प्रकाशित भैसकेका छन् । विमोचनका बखत जिटलम्यानले आफूले “पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य”मा पुँजीवादका सम्बन्धी संसारभरि व्याप्त भ्रमहरूको तथ्यपरक चिरफार गर्न खोजेको बताए । “सन् १८२० देखि २०२२ सम्मको अवधिमा संसारभरि गरिबीको रेखामुनि जीवन बिताउनेहरुको अनुपात ९० प्रतिशतबाट ९ प्रतिशतभन्दा कममा घटेको छ भने साथसाथै अरबपतिहरुको संख्या पनि बढेको छ। यसले पुँजीवादले आर्थिक समृद्धि लिएर आएको स्पष्ट हुन्छ ।,” उहाँले भन्नुभयो।
लेखकले सो प्रयोजनका लागि पुँजीवादलाई लाग्ने १० किसिमका आरोपहरूको मिहिन छानबिन गरी ऐतिहासिक प्रमाणहरूको सहयोगले ती आरोपहरूको सत्यतामा खोट औँल्याउनुभएको छ।
त्यस्तै, लेखकले बीसौं शताब्दीमा भोकमरीबाट भएका मृत्युहरू ८० प्रतिशत चीन र सोभियत संघमा भएको बताउनुभयो । “चीनमा माओको समयमा ४ करोड ५० लाख मानिसको मृत्यु भयो तर म भ्रमण गर्ने अधिकांश मुलुकहरूमा यसबारे विद्यालयमा कतै पढाइ नहुने गरेको पाएँ।,” उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले आर्थिक स्वतन्त्रता र वातावणीय गुणस्तरको सकारात्मक सम्बन्ध हुने तथ्य औँल्याउनुभयो । जुन देशहरुले आर्थिक स्वतन्त्रतालाई अङ्गीकार गर्छन् ती देशहरु नै वातवरणीय गुणस्तरको मानकहरुमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्ने उहाँको निष्कर्ष थियो । तत्कालीन पूर्व र पश्चिम जर्मनीको समाज नजिकबाट नियाल्न पाएका लेखक जिटलम्यानले समाजवाद र पुँजीवाद अङ्गालेका यी दुई देशहरुमा रहेका तत्कालीन खाडलहरुबारे पनि चर्चा गर्नुभयो । उहाँले पूर्व जर्मनीको तुलनामा पश्चिम जर्मनी आयुको गुणस्तरमा धेरै सफा रहने गरेको पनि बताउनुभयो ।
त्यस्तै, पुँजीवादले धनीहरुलाई मात्र राजनीतिक मुद्धाहरुको अजमान बनाउने तर्क एकदमै त्रुटिपूर्ण रहेको कुरा पनि पुस्तकमा पुष्टि गरेको बताउनुभयो । अमेरिकी राष्ट्रपतीय चुनावको उदाहरण दिँदै उहाँले हिल्लारी क्लिन्टनले डोनाल्ड ट्रम्पभन्दा धेरै स्रोत जम्मा गर्न सके पनि चुनावमा अन्ततः हार्नु परेको कुरामाथि प्रकाश पार्नुभयो ।
लेखक जिटलम्यानले आफूले नेपालसहित ३५ देशहरुमा पुँजीवादको छविसम्बन्धी अहिलेसम्मकै सबैभन्दा ठुलो आर्थिक सर्वेक्षणको चर्चा गर्नुभयो । उक्त सर्वेक्षणमा नेपालीहरुको पुँजीवादप्रतिको दृष्टिकोण सर्वेक्षणमा सम्मिलित अरु देशहरुको तुलनामा तटस्थ रहेको पनि बताउनुभयो ।
वक्ताका रुपमा रहनुभएको सोधक अर्पिता नेपालले उक्त किताबबारे टिप्पणी गर्दै “पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य”ले जटिल अर्थशास्त्रीय अवधारणाहरुलाई सरल तरिकाले बुझाउन खोजेको बताउनुभयो । “संसारको सबै देशजस्तै नेपालको पनि आफ्नै विशिष्टता छ र यस मौलिक वास्तविकतासँग मेल खाने धेरै उदाहरणहरु किताबमा पाएँ ।,” उहाँले भन्नुभयो ।
उहाँले उक्त किताबले जटिल आर्थिक अवाधारणाहरूबारे जान्न इच्छुक पाठकहरु र विशेषगरी आर्थिक पत्रकारितामा संलग्न पेशाकर्मीहरुलाई सान्दर्भिक हुन सक्ने बताउनुभयो । उहाँले संसारका अधिकांश असमानताहरु बजारले आफैँ निर्माण गर्नेभन्दा राज्यको बेतुकको नियमहरुले जन्माउने गरेको कुरा पनि इंगित गर्नुभयो। नेपालले केही हदसम्म निजीकरणलाई आत्मसात गरे पनि पुँजीवाद भनेको खुला प्रतिस्पर्धा र स्वच्छ बजारको विकास भएको बिर्सिन नहुने बताउनुभयो ।
अर्का वक्ता माननीय मनिष झाले देशमा आर्थिक पुनर्संरचनाको बहस चलिरहेका बखत “पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य”ले त्यस सम्बन्धी नवीन प्रश्नहरु गर्न सहयोग गर्ने बताउनुभयो । देशमा कानुनसम्मत पुँजी उपयोग गरेर धनआर्जन गर्ने कामलाई नकारात्मक दृष्टिले हेर्ने समस्या व्याप्त रहेकाले समग्र देशको सम्मुनतिका लागि समाजका सबै वर्गको समृद्धि आवश्यक रहेको बिर्सनु नहुने बताउनुभयो । हरेक नागरिकको आफ्नो इच्छाको जीवनशैली जिउने स्वतन्त्रता हुने र राज्यले त्यसमा अनावश्यक हस्तक्षेप गर्न नहुने उहाँले बताउनुभयो ।
त्यस्तै, लेखक जिटलम्यानले १५ देशहरुमा अनुवाद भइसकेको पुस्तक “Set Yourself Bigger Goals” मा ५० सफल व्यक्तित्वहरुको आत्मकथा अध्ययन गरी ती सबै जीवनीमा रहेका समान रेशाहरु केलाउनुभएको छ । अर्नोल्ड स्वार्जनेगरजस्ता विश्व प्रसिद्ध हस्तीहरुको उदाहरण दिँदै विभिन्न कठिनाइ, कष्ट र दुःख सहेर पनि ठुलो सपना र दृढ संकल्प विकास गर्न सके सफलता हात लाग्ने निश्चित रहेको कुरा किताबद्वारा पाठकहरुलाई बुझाउन खोजेको पनि बताउनु भयो । विशेषगरी युवा पुस्तालाई यो किताब उपयोगी हुने र हरेक युवाले ठुला सपना देख्न जरुरी भएको उहाँले बताउनुभयो ।
WeRead प्रकाशनघरबाट प्रकाशित “पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य” को मूल्य ने.रु. ९५० रहेको छ भने “Set Yourself Bigger Goals” को मूल्य ने. रु. ९०० रहेको छ ।
दुवै पुस्तक कथालयको website (https://www.kathalaya.com.np/), Daraz, अथवा नेपालभरिका किताब पसलहरूमा उपलब्ध रहेकाे प्रकाशक संस्थाले जनाएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 





