कवि प्रदीपरत्न शाक्यको कवितासंग्रह म सडकको प्रतिविम्ब एक समारोहका बीच सार्वजनिक गरिएको छ । अभिनव साहित्य समाजद्धारा काठमाण्डौको जोरपाटीस्थित भैरव स्मृति भवनमा आयोजिन सो समारोहमा वरिष्ठ कवि तुलसी दिवसले उक्त कृति लोकार्पण गर्नुभयो ।

लोकार्पणपछि बोल्दै कवि दिवसले कवितामा व्यक्त भावना र अनुभूतिमा कवि शाक्यको आफ्नोपन देखिएको छ र एउटा स्रष्टाको लागि यो अत्यन्त महत्वपूर्ण पक्ष हो भन्नुभयो ।

कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै साहित्यकार धु्रव मधिकर्मीले भोगाइ र परिवेशलाई कवि शाक्यले सुन्दर एवं कलात्मक तवरले कवितामा अभिव्यक्त गरिएको बताउनुभयो ।

कृतिका स्रष्टा कवि शाक्यले कविताप्रतिको आफ्नो हार्दिकता र लगावका कारण अनुभूतिलाई कविता वनाउन प्रयासरत् रहेको बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष गोविन्दप्रसाद वेदमणि, भगतदास श्रेष्ठ, नरेशवीर शाक्य, नारद बज्राचार्य, विमल अर्याल र परशुराम पराशरले पनि कविताका बारेमा बोल्नुभएको थियो ।

कृतिबाट अच्युत घिमिरे, दिलकुमारी डंगोल, कविन्द्रलाल प्रधान, तेजकृष्ण श्रेष्ठ र वसन्त नकर्मीले कविता वाचन गर्नुभएको थियो ।

नेपाली र नेपालभाषामा समेत कविता लेख्दै आएका कवि शाक्यको म सडकको प्रतिविम्बमा समसामयिक सन्दर्भका बारेमा लेखिएका ७६ वटा कविता छन् ।