नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८० का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा आइतबार ललितपुरको पुल्चोकमा बसेको कार्यसमिति बैठकले चयनकर्ताहरूको सिफारिसका आधारमा यी सम्मान र पुरस्कारहरूको घोषणा गरेको हो ।

प्रतिष्ठानबाट प्राप्त जानकारीका अनुसार यस वर्षको अमूल्य  राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गरिने भएको छ । यसैगरी, प्रतिष्ठानले रु. एक लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

रु. ७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्रीलाई, रु. ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक, पत्रकार अश्विनी कोइरालालाई, रु. ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई तथा रु. ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष मोमिलाका अनुसार सम्मान र पुरस्कार अर्पण समारोह यसै वर्ष माघ महिनाको अन्त्यतिर काठमाडौँमा आयोजित गरिन छ ।

प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर रूपमा साहित्य, सङ्गीत, ललितकला र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारले सम्मानित गर्दै आएको छ ।