शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा नेपालगन्जमा ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी समारोह’ सम्पन्न भएको छ । सो समारोहमा स्रष्टाहरू आख्यानकार कल्पना खरेल, कथाकार गणेश जिसी र लोक गायक भीमबहादुर शाहीलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. जनार्जन आचार्यले मन्तव्यका क्रममा भन्नुभयो, ”शाश्वत आचार्यको सम्झनामा मोफसलमै लुकेका प्रतिभा र योगदानलाई प्रोत्साहन गर्नका निमित्त यो कार्यक्रमको आयोजना गरिएको हो । आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचले यस संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।”

शाश्वत आचार्य स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत कल्पना खरेल मोफसलमै रहेर कलम चलाउने साधनारत स्रष्टा हुन् । उपन्यासकार खरेलले कृतिहरूमा विवेक र नैतिकतालाई हतियार बनाएकी छिन् । उनले उपन्यासमार्फत् समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको स्पष्ट देखिन्छ । सामाजिक अन्तर्विरोध र सङ्घर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तर्दृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको पाइन्छ ।

२०८० मा अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित कार्यक्रममा खरेकाे रानीतलाउ उपन्यासले सर्वोत्कृट पुस्तक पुरस्कार जित्न सफल भएको थियो । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।

खरेलका दुई सयभन्दा बढी लेख रचना पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने उनकाे शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी हुँदैन’लगायत दुई दर्जन गीतहरू रेकर्डसमेत भइसकेका छन् ।

खरेल जी.नेपाल फो.के. टेलिभिजनको भावसरोवर साहित्यिक कार्यक्रमको प्रस्तोतासमेत पनि हुन् ।

शाश्वत आचार्य स्मृति प्रतिष्ठान जनार्जन आचार्य र वरिष्ठ साहित्यकार किरण आचार्यले आफ्नु कान्छो छोरा स्व. सास्वतको नामबाट स्थापना गरिएको संस्था हो ।