कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७९ सालका लागि तीन पुरस्कारको घोषणा गरेको छ ।

घोषणाअनुसार प्रतिष्ठानले यस वर्षको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ कवि शैलेन्द्र साकारलाई, ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान’ गजलकार विवश बलिभद्र कोइराला तथा ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ कवि उमेश लुइँटेललाई प्रदान गर्ने भएको हो ।

कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि शैलेन्द्र साकारलाई पाँच दशकदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि दिइने निर्णय गरिएको हो । यो पुरस्कारको नगद राशि पचीस हजार रूपियाँ रहेको छ ।

यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे र दिनेश अधिकारी सम्मानित भइसक्नुभएको छ ।

यसैगरी कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान विवश बलिभद्र कोइरालालाई तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको गजल विधामा दिएको योगदानका लागि प्रदान गरिएको हो भने अढाई दशकभन्दा बढी समयदेखि कविता विधामा दिएका योगदानका लागि युवाकवि लुइँटेललाई युवा सिर्जना पुरस्कार प्रदान गरिएको हो ।

यी दुई पुरस्कारको नगद राशि जनही क्रमशः पध्र हजार र एघार हजार रुपियाँ रहेको छ ।