
डा. जानुका पौडेलको किशोरमैत्री कथाहरूको सङ्ग्रह ‘तनुजा’लाई ‘जय हिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार’ प्रदान गरिएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले एक विज्ञप्ति जारी गर्दै वर्ष ०७९ को ‘जय हिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार’ तनुजाका लागि पौडेललाई प्रदान गर्ने जनाएको हो ।
१० हजार नगद राशिसहितको यो पुरस्कार आउँदो मङ्सिर २५ गते एक समारोहको आयोजना गरी पौडेललाई समर्पण गरिने अनुसन्धान केन्द्रले जनाएको छ । पुरस्कार वितरण समारोह अनामनगरस्थित समाजिक विकास समाजको भवनमा दिउँसो १:४५ बाट सञ्चालन हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्नुभएकी पौडेल नेपाल नील बाराही माध्यमिक विद्यालय, काठमाडौँकी प्रधानाध्यापक हुनुहुन्छ । मानवसेवा विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, युनेस्कोको निमित्त राष्ट्रिय आयोगको सचिवालयः शिक्षा समिति सदस्य, नेपाल महिला शिक्षा समाजको केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, भाषा साहित्य समितिको अध्यक्ष आदि संस्थाहरूको अनुभव बटुल्नुभएकी उहाँको यो पहिलो कथाकृति हो ।
पुरस्कृत कृति ‘तनुजा’लाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

