साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई  बालकथाकार तथा विभिन्न विधामा कलम चलाउन रुचाउने लेखक नारद थपलियाको आख्यानात्मक पुस्तक “प्रेमको मन्दिर” प्राप्त भएको छ ।

७८ पृष्ठमा आधारित यस पुस्तकमा ‘घर–वृद्धाश्रम’, ‘रूपान्तरण’, ‘त्यो टोलको अन्तिम कच्ची घर’, ‘जिन्दगी सुरु हुन्छ, साठी वर्षपछि’, ‘पटक–पटक सति’, ‘बाजी’, ‘प्यारको बन्धन’, ‘प्रेमको मन्दिर’, ‘मोइ द्रुग भालोद्या’, ‘बिग्रेको स्वरको जादू’, ‘नाटक’, ‘जिन्दगी चलिरहन्छ’, ‘चड्कनको चुम्बन’ गरी १३ थान कथा सङ्ग्रहित छन् ।

प्रेमकाे मन्दिर

प्रेमकाे मन्दिर

मीठो र सरल भाषाशैलीमा लेखिएका सङ्ग्रहित कथाहरूमा लेखकको अनुभव, बुझाइ फरक तरिकाले अगाडि बढेको पाइन्छ । सामाजिक यथार्थको परिवेशले गर्दा यस कथाका पात्रहरू जीवन्त छन् ।

प्रेमको मन्दिरमा उल्लेख छ, “पहिलो पटक काठमाडौँ जाँदा मैले वीर अस्पताल देख्ने मौका नै पाइनँ । जब म एस.एल.सी. दिएपछि काडमाडौ गए तब भने नेपालको जेठो अस्पतालको विशालताले गर्दा हायलकायल भएको थिएँ । त्यसपछि पनि समय–समयमा वीर अस्पताल गइरहें । कहिले बिरामी आफन्तलाई भेट्न त कहिले त्यसै काठमाडौँ घुम्ने क्रममा । पछि हेल्थ असिस्टेन्ट पढ्दा भने त्यो अस्पताल निकै पटक धाइयो । देशको सबभन्दा ठुलो अस्पताल भन्ने कुनै समय उपमा पाएको त्यो अस्पताल पुग्दा जहिले पनि मन्दिरमा पुगेजस्तो लाग्दथ्यो ।

कताकता त्यो अस्पतालले मेरा कानहरूमा केही भनेजस्तो पनि लाग्थ्यो । कहिले मेरो सपनामा पनि कुनै परी आएर केही भन्न खोजेजस्तो समेत लाग्थ्यो । तैपनि ती इशाराहरूलाई मैले त्यति वास्ता नै गरिनँ । त्यस्तैमा केही वर्ष पहिले त्यो अस्पतालको स्थापनाको कथा थोरै भने पनि थाहा पाएदेखि भने म सधैं नै त्यो अस्पताललाई प्रेमको मन्दिर मान्ने गर्छु । हो, त्यो मिठो कथा एकादेशको कथाजस्तै भएकाले मैले पनि आफ्नो मनको कुनै कुरामा लुकाएर राखेको थिएँ ।”

मेरो भन्नुमा लेखक लेख्छन्, “मैले देखेका, सुनेका अनि भोगेका घटनाहरूलाई थोरै काल्पनिकतामा रङ्ग्याएर आफ्ना अनुभूतिहरू गर्ने जमर्को गरेको छु । थाहा छैन यी अनुभूतिहरू समयको कसीमा कसरी प्रस्टिन्छन् । यी कथाहरूका पात्रहरूले मेरो दिललाई थोरै भए पनि छोएकै थिए, त्यसैले नै लेखिएका पनि हुन् ।”

पुस्तकलाई  लेखक स्वयम्ले प्रकाशनमा ल्याएका हुन् ।