प्रतिभा सम्मान प्रबन्ध गुठीले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रका ९ जना व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । अध्यक्ष मोहन दुवालको अध्यक्षतामा बुधबार बनेपामा बसेको गुठीको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिभा सम्मान प्रबन्ध गुठीले हरेक वर्ष जिल्लाका तीन जना प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ । २०७७ सालबाट कोभिड १९ का कारण सम्मान गर्न नसकेकाले यो वर्ष २०७७ साल देखि क्रमशः २०७९ सम्म प्रत्येक वर्ष तीन जनाका दरले सम्मान गर्न लागिएको अध्यक्ष दुवालले जानकारी दिएका छन् ।

२०७७ सालको सम्मान पाउनेमा काभ्रेका तीन पत्रकारहरू, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष भोला थापा, निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना र कान्तिपुरका पत्रकार दिपक सापकोटा छन् । त्यस्तै, २०७८ सालको सम्मानबाट साहित्यकारहरू यादव खरेल, सूर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी सम्मानित हुने भएका छन् ।

२०७९ सालको सम्मानबाट काभ्रेका तीन उद्यमी महिलाहरू सम्मानित हुने भएका छन् । कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु उद्यमी महिला प्रतिभाबाट सम्मानित हुने भएका हुन् ।

नगद राशि १५ हजारसहित पुसको २८ गते उक्त सम्मान अर्पण गरिनेछ ।