नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसीको तेस्रो कृति “जूनको रोटी” काव्य सङ्ग्रह काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखकका माता–पिता, वरिष्ठ साहित्यकार कलानिधि दहाल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, साहित्यकारद्वय डा. रेणुका सोलु र डा. जानुका पौडेल नेपाल र लेखकले संयुक्त रुपमा विमोचन गर्नुभएको छ ।
यस संग्रहमा पचास वटा मुक्तक, पचास वटा हाइकु र पचास वटा सेन्यूहरू संग्रहित छन् । कृतिभित्र छोटो समयमा नै पढ्न सकिने छोटा विधाहरूमार्फत जीवनका आशा, आशंका, नेपालीपन र मौलिकताका कोमल र मार्मिक भावहरू स्पन्दित छ ।
एक दशकदेखि न्युजिल्यान्ड बस्दै आउनुभएका दाङका केसीले सन् २०२१ मा ‘आमाको काखमा दुखेको देश’ कविता संग्रह र सन् २०२२ मा ‘किवीको देशमा डाँफेको गुञ्जन’ गजल संग्रह निकाल्नु भएको थियो । तीन वटै सङ्ग्रहलाई उहाँले आफ्ना मातापिता लीलाकुमारी तथा घनश्याम केसीप्रति समर्पित गर्नुभएको छ भने प्रकाशन कार्यमा उहाँका सासूससुरा कमला र कमल केसीले सहयोग गर्नुभएको छ । तिनै पुस्तकलाई साहित्यपोस्ट समूहले बजारमा ल्याएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कलानिधि दाहालले विमोचित कृति र लेखकका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । लेखकका अघिल्ला दुई कृतिको परिचर्चा पनि गरिएको थियो । जसअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रशासन प्रमुख साहित्यकार डा. रेणुका सोलुले आमाको काखमा दुखेको देश कविता संग्रहको र त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. गंगा केसीले ‘किवीको देशमा डाँफेको गुन्जन’ गजल संग्रहको परिचर्चा गर्नु भएको थियो ।
चार जना कवि राधिका कल्पित, सञ्जु अधिकारी, बिन्दा पराजुली र गंगा देवी भट्टले लेखकका रचना वाचन गर्नु भएको थियो ।
साहित्यपोष्टका प्रमुख अश्विनी कोइरालाको सभापतित्व, वरिष्ठ साहित्यकार कला निधि दहालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमलाई डा. सरिता केसीले सञ्चालन गर्नुभएको थियो ।
सो अवसरमा दुई नारी स्रष्टाहरू डा. रेणुका सोलु र डा. जानुका पौडेल नेपाललाई नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्षसमेत रहनु भएका लेखकले सम्मान गर्नु भएको थियो । त्यस्तै नेपाली साहित्य समाज न्युजिल्यान्डका आजीवन सदस्य ओम प्रकाश मान सिंह बस्न्यातलाई अध्यक्ष डा. केसी, प्रमुख अतिथि र नेपाली साहित्य समाज न्युजिल्यान्डका कोषध्यक्ष डा. शिवप्रसाद पोखरेलले आजीवन सदस्यता प्रदानसहित सम्मान प्रदान गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।