हङकङमा कवि प्रकाश थाम्सुहाङको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । एकल वाचनमा थाम्सुहाङले नेपाली कविता र हङकङको नेपाली साहित्यप्रति आफ्नो धारणा राख्दै आधा दर्जन कविता वाचन गरेका हुन् ।

व्यस्त समयका बाबजुद हङकङवासी नेपाली साहित्यकारहरूको सक्रिय लेखनले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उनको मत थियो । उनले भने, ‘विभिन्न साहित्यिक अभियानहरुको ऐतिहासिक विरासतलाई निरन्तरता दिइरहेका हङकङवासी नेपाली साहित्यकारहरुको सिर्जनामा अब्बल दर्जाको चिन्तनशीलता पनि पाइन्छ ।’

कार्यक्रममा ताम्सुहाङका साथै हङकङवासी कविहरू शरण सुब्बा, जुनु दिव्या राना, जानु काम्बाङ लिम्बू, भुपेन्द्र चेम्जोङ, खुशी थुलुङ तथा देवेन्द्र खेरेसले पनि कवितावाचन गरेका थिए ।

कवि थाम्सुहाङको कवितामाथि हङकङवासी साहित्यकार प्रदीप कन्दङ्वाले समालोचनात्मक टिप्पणी राखेका थिए । कार्यक्रममा थाम्सुहाङलाई आठ हजार हङकङ डलरसहित सम्मानसमेत गरिएको थियो ।

बगैँचा सञ्चारको आयोजनामा हङकङको जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा आयोजित सो कार्यक्रमको व्यवस्थापन बीएस एकेडेमीले गरेको हो । बगैँचा सञ्चारका निर्देशक धीरजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अग्रज कवि नरेश सुनुवार, हङकङ साझा शृङ्खलाका संयोजक रमण गुरुङ, थाम्सुहाङ सेवा समाजका केन्द्रीय अध्यक्ष भवेन्द्र थाम्सुहाङ, समाजसेवी शोभा राना राईलगायत उपस्थित थिए ।

पचासको दशकदेखि लेखन यात्रामा निरन्तर रहेका थाम्सुहाङको ‘पालामको मुर्छना’ कवितासङ्ग्रह प्रकाशित छ । उनको हालै निबन्धसङ्ग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ ।