साहित्यकार देवीप्रसाद मिश्रको कवितासंग्रह ‘वधू मञ्जरी’ विमोचन भएको छ । भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कवितासंग्रह ‘बधु मञ्जरी’ विमोचन गरेको हो ।
सोह्रखुट्टे, नयाँबजारस्थित कालधारा चोकमा रहेको ‘फ्रिक मण्डला रेस्ट्रो एण्ड बेंकेट’मा आयोजना गरिएको बधु मञ्जरी खण्डकाव्य लोकार्पण समारोहमा १२ जना कवि एवम् साहित्यकारहरूले एकसाथ कवितासंग्रह ‘वधू मञ्जरी’को विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा सहभागीहरुले ‘वधू मञ्जरी’ खण्डकाव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रूपमान्तरणमा कला र साहित्यको महत्त्वपूर्ण भूमिका रहने भन्दै कवितासंग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुई सय वर्षअघि वधू शिक्षा लेखेर त्यस समयको सामाजिक परिवेशमा बुहारीले राख्नुपर्ने सजगता र गर्नुपर्ने कर्तव्य सिकाएकोमा अहिले समय, समाज धेरै परिवर्तन भइसकेको बताए ।
‘बधु मञ्जरी’ खण्डकाव्यले आदिकविको समयभन्दा दुई सय वर्षपछाडिको आजको समाजको चित्रण गरेको बताउँदै उनले भने, “अहिले युग फेरिएको छ । हाम्रा पारिवारिक सोचाइ भिन्न हुँदै गएका छन् । कविवरले वधू मञ्जरीलाई नयाँ आलोकमा उतार्नुभएको छ ।’
कार्यक्रमामा छन्द कविताका अभियन्ता एवम् समीक्षक प्राध्यापक डाक्टर देवी नेपालले कृतिमा उल्लेख भएका दुई सय चौरासी श्लोकमा सबैभन्दा बढी सार्दुलविक्रिडीत छन्दको प्रयोग भएको बताउँदै उक्त कविताहरूमा बुहारीलाई उपदेशमात्र नभएर कविको बुढ्यौलीसमेत प्रवेश भएको बताए ।
प्राध्यापक डाक्टर नेपालले भने, “खण्डकाव्य उपदेशक मात्र नभएर जीवनबोध गराउने सन्दर्भले समेत भरिएको छ । जीवनलाई हेर्ने सन्दर्भमा अन्त्यन्तै सुन्दर पक्षहरू समेटिएका छन् ।” ‘ऋषितुल्य मानिसले जीवनको उपदेशमा शिक्षालाई बढी महत्त्व दिने’ सन्दर्भ उल्लेख गर्दै नेपालले ‘जीवन बोध गरेको मानिसले चैँ जीवन र समाजको यथार्थ बोध गराउने’ बताए ।
कार्यक्रममा एजिङ नेपालका अध्यक्ष एवम् व्यङ्ग्य कवि कृष्णमुरारी गौतम (चट्याङ्ग मास्टर), चन्द्रयुग महाकाव्यका रचनाकार कवि एवं साहित्यकार चन्द्रप्रसाद न्योपाने, साहित्यकार एवं कवि भक्तबहादुर नेपाली, हास्यकलाकार मनोज गजुरेल, कवि एवम् आख्यानकार माधव बिडारीलगायतले कवि देवीप्रसाद मिश्रलाई कृति प्रकाशन गरेकोमा बधाई दिएका थिए ।
ओरेन्टल पब्लिकेसनका सञ्चालक हरि गौतमको सभापतित्त्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसे, छन्द अभियन्ता एवं समीक्षक प्राध्यापक डाक्टर देवी नेपाल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल, प्रा.डा. मदनबहादुर सिंह, लेखक एवम् साहित्य सितल गिरी, कवि लुमणिप्रसाद खनाल, उपन्यासकार माया शर्मालगायतको उपस्थिति रहेको थियो ।
भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेले स्वागत मन्तव्य तथा जीवनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।