प्रौढ अनुभूतिलाई साहित्यमा रूपान्तरण गर्ने र जेष्ठ नागरिक सम्मानको जग बसाल्ने हेतुले सिरहाको बन्दिपुरमा बुढ्यौली साहित्य समाज सिरहा शाखाको गठन भएको छ ।

कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रथम जिल्ला भेला तथा रचना वाचन कार्यक्रमचलेको थियो । सो भेलाले साहित्यकार गणेश अधिकारीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको थियो ।

समितिको  उपाध्यक्षमा जिवछ उदासी (यादव), सचिवमा प्रचण्ड कटुवाल र कोषाध्यक्ष पदमा सुशीला राई सर्वसम्मतले चुनिएका थिए । त्यसै गरी सदस्यहरूमा भैरव गेलाल (योग भैरव),  तुलसा काफ्ले  र यमुना प्रसाद पंजियारको नाम रहेको कुरा बुढ्यौली साहित्यका अभियन्ता रमेशमोहन अधिकारीले जानकारी दिएका छन् ।

नन्दलाल आचार्य र तुलसा काफ्लेद्वारा सञ्चालित कार्यक्रममा मन्जुरा कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् । बुढ्यौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य नन्दलाल आचार्यले कार्यक्रमको औचित्य र उपादेयीताका बारेमा चर्चा गर्नुका साथै वर्तमान परिप्रेक्ष्यमा बुढ्यौली साहित्यको आवश्यकता र महत्त्व बारे सटीक जानकारी गराएका थिए ।

सो भेलामा विशिष्ट अतिथिका रूपमा बुढ्यौली साहित्य समाज मधेश प्रदेश सल्लाहाकार (इन्चार्ज) रमेशमोहन अधिकारी, मधेश प्रदेश समिति अध्यक्ष लम्बोदर काफ्ले लगायतका बक्ताहरूले बुढ्यौली साहित्य बारे आआफ्ना अभिमत सार्वजनिक गरेका थिए ।

सिराहा मैथिली भाषासाहित्य संयोजक रामरिजन यादव, बुढ्यौली साहित्य समाज मधेश प्रदेश समिति सदस्य तथा बर्दिवास साहित्यिक-सास्कृतिक प्रतिष्ठान बर्दिवास महोतरीका अध्यक्ष रामचन्द्र पौडेल, कमला कला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे अग्निकवज, बर्दिवास साहित्यिक-सास्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद काफ्ले लगायतका चार दर्जन  साहित्यिक व्यक्तित्त्वहरू उपस्थिति थियो ।

सो भेलामा गजल आचार्य, योग भैरव, रोहित न्यौपाने, राजकुमार राई, अक्षान्त, जिवक्ष उदासी, तुलसा दाहाल, गणेश  अधिकारी, शनि कर्ण, रामरिझन यादव, लम्बोदर काफ्ले, प्रचण्ड कटुवाल, भोलाप्रसाद पोखरेल, रमेशमोहन अधिकारी, रामचन्द्र पौडेल, नारद प्रसाद काफ्ले, गणेश तिमल्सिना, गोविन्द खड्का, प्रेम घिमिरे, कृष्ण कोइराला, लीला गौतम, मन्जुरा कार्की कटवाल लगायत अढाई दर्जन साहित्यकार तथा साहित्यप्रेमीले सामयिक विचार व्यक्त गर्नुका साथै बुढ्यौली कविता, गीत, मुक्तक, गजल र लघुकथा वाचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गणेश अधिकारीले भेलामा उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त भेला पिभिएम आवासीय मा वि बन्दिपुर, सिराहाको सभाहलमा सम्पन्न भएको थियो ।

बुढ्यौली साहित्य समाज सिरहाले निकट भविष्यमा नै विविध साहित्यिक शृङ्खला सुरुअात गर्ने  जनाइएको छ । त्यसको प्रभावित क्षेत्र बाल, युवा, वृद्ध जो पनि हुन सक्ने छ । बालबालिकालाई “मेरा हजुरबुबा”, “मेरी हजुरआमा” शीर्षकमा कविता र निजात्मक निबन्ध लेखन र वाचन कार्यक्रम गर्ने योजना रहेको छ । अनलाइनमै “बुढ्यौली विषयक कविता र लघुकथा लेखन अभियान” चलाउने व्यवस्था गरिँदै छ । परिस्थिति अनुसार युवा केन्द्रीकृत “बुढ्यौली साहित्य लेखन” प्रतियोगिता सञ्चालन गर्नेसमेत बताइएको छ ।

पाठ्य साहित्यिक सामग्री, श्रव्य साहित्यिक सामग्री र दृश्य साहित्यिक सामग्री उत्पादन, प्रकाशन  र प्रशारण गरी बुढ्यौली साहित्यको समुन्नतिमा सिरहा शाखा क्रियाशील रहने जानकारी गोलबजार मुकाम गरी साहित्यसेवामा लागेका नन्दलाल आचार्यले बताएका छन् । यसका लागि सबै व्यक्ति र निकायबाट सक्रियता र सक्तो सहयोग गर्न सम्बन्धित सबैमा आह्वान् गरिएको छ । सोही प्रयोजनका लागि “सिरहा बुढ्यौली साहित्य समाज” फेसबुक समूह समेत खोलिएको जानकारी एडमिन तथा सिरहा शाखाका सचिव प्रचण्ड कटुवालले बताएका छन् ।