चितवनमा ‘भूपिनका कविता उत्सव’ मनाइएको छ । उनको हालै प्रकाशित कविता कृति ‘भूपिनका कविता’ सार्वजनिकीकरणसँगै उनका कविताको उत्सव मनाइएको हो ।

चितवनका अग्रज स्रष्टाहरू रेशम विरही, डाक्टर एकनारायण पौड्याल, उदय अधिकारी, निमेष निखिल, बुक हिल पब्लिकेसन्सका प्रमुख भुपेन्द्र खड्कालगायतले संयुक्तरुपमा कृति विमोचन गरेका हुन् ।

कवितासंग्रहमा ५९ वटा समसामयिक विषयका कविता समावेश गरिएको छ । कक्षा नौको नेपाली पाठ्यक्रममा समावेश गरिएको भूपिनको कविता ‘आमाको तस्बिर’ पनि यो संग्रहमा समावेश गरिएको छ । भूपिनका अघिल्ला दुईवटा संग्रह ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’बाट पाठकले रुचाएका कविताहरू छनोट गरेर ‘भूपिनका कविता’ निकालिएको कवि भूपिनले बताए ।

उनले आफ्ना कविता पाठकका माझमा गएकाले आफूले पाठकको प्रतिक्रिया पर्खेर बसेको बताए ।

कवितामाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक डा. एकनारायण पौड्यालले भूपिनका कवितामा प्रतीक र बिम्ब सशक्त रूपमा आएको बताए । अर्का समीक्षक कवि निमेष निखिलले भूपिनका कविता युग सुहाउँदो भएको टिप्पणी राखे । प्रमुख अतिथि रेशम विरहीले कवि भूपिनका सिर्जना पाठकको मन–मस्तिष्कमा गाढा भएर रहन सक्ने बताए ।

कार्यक्रममा एलबी क्षेत्री, प्रकाश चापागाईं, डिबी बर्तौला, सागर उदास, अनिल श्रेष्ठ, बालकृष्ण थपलिया, ईश्वर कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कविता उत्सव कार्यक्रमलाई अक्षर समूहका ज्येष्ठ सदस्य उदय अधिकारीले अध्यक्षता गरेका थिए । उनले कवि भूपिनलाई उनका सिर्जनाले नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे ।