
रुकुम पूर्वमा दोस्रो साहित्य महफिल २०८० भव्यताका साथ सम्पन्न भएको छ । जिल्लाको भूमे गाउँपालिकाको कार्यालय खाबाङमा “भाषा‚ साहित्य‚ कला र संस्कृति ! जीवन र जगतको समृद्धि” भन्ने नाराका साथ महफिल साहित्यरस छोड्दै भव्यताका साथ सम्पन्न भएको हो ।
भूमे गाउँपालिकाको आर्थिक सहयोग र राप्ति साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा दोस्रो साहित्य महफिल २०८० सम्पन्न भएको हो ।
महफिलमा ख्याती प्राप्त साहित्य सर्जकहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए । कविहरू रामेछापका विक्रम पवन परियार‚ रुकुम पूर्वका कर्मसही घर्ती मगर तथा कास्कीका अमृतले कवितामार्फत दर्शक र अतिथिहरूको मन खिच्न सफल हुनुभएको थियो । दैलेखका गजलकार महेन्द्र चन्द महासागर र मुक्तककारहरू रुकुम पश्चिमका दिनेश आदिव‚ रुकुम पूर्वकी बिना गौतमले गजल र मुक्तकका माध्यमबाट दर्शक र अतिथिहरूलाई आफूहरूतर्फ आकर्षित गर्नुभएको थियो ।
गत वर्ष सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा रुकुमकोटमा प्रथम साहित्य महफिल २०७९ सम्पन्न भएको थियो । आगामी वर्ष महफिल सञ्चालनको लागि राप्ती साहित्य परिषद्ले पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पूनीराज घर्तीलाई कार्यक्रमकै बिचमा सहयोगको लागी आग्रह गर्दै प्रस्तावना पत्र पनि पेश गरेको छ । उहाँले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
महफिलकै क्रममा राप्ती साहित्य परिषद्ले निकालेको सिर्जना संगमको पनि विमोचन गरिएको छ ।
महफिलमा कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । १२ जनाले प्रतिस्पर्धा गरेको कविता प्रतियोगितामा भूमे गाउँपाललिका ८ का सीतल बुढाले प्रथम स्थान हासिल गर्नुभएको थियो । यस्तै, भूमे गाउँपालिकाकी रमिता रसाइलीले द्वित्तीय स्थान हासिल गर्दा सिस्ने गाउँपालिकाका क्रमशः अमृता शाह र टीका केसी तृतीय र सान्तवना स्थान हासिल गर्नुभएको छ । उहाँहरुलाई प्रमाणपत्रसहित नगदले पुरस्कृत गरिएको छ ।
कार्यक्रममा साहित्यमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा स्थानीय साहित्यिक स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए ।
राप्ती साहित्य परिषद्, जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष कमानसिङ विष्टको अध्यक्षतामा भएको साहित्य महफिल कार्यक्रम २०८० मा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख मोहनबहादुर केसी‚ भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ‚ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी‚ पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पूनीराज घर्तीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्यप्रेमी मनहरूको उपस्थिति रहेको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतमको स्वागत मन्तव्य रहेको महफिल कार्यक्रमको सञ्चालन सदस्य उर्मिला गौतमले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

