रूक्मणिराज सिवाकोटी स्मारक कोष, ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन कानून प्रतिष्ठान तथा ज्ञानगुन प्रकाशनद्वारा संयुक्त रूपमा आयोजित एक कार्यक्रममा साहित्य र पत्रकारिता साधकहरूलाई सम्मान गरियो ।
ज्ञानगुन साहित्य प्रतिष्ठान तथा रूक्मणिराज सिवाकोटी स्मारक कोषका संस्थापक अध्यक्ष शेषराज सिवाकोटीको सक्रियतामा भएको सो कार्यक्रमको सभापतित्व सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीले गरेका थिए भने अन्य प्रमुख अतिथि,विशिष्ट अतिथिहरूमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरू टोपबहादुर सिंह, प्रकाश वस्तीलगायत पूर्व राजदूत विष्णुहरि नेपाल, सङ्घीय सांसद् रघुजी पन्त, पूर्व अर्थमन्त्री महेश आचार्य आदिको उपस्थिति थियो ।
त्यसैगरी, वरिष्ठ पत्रकारहरू गोपाल थपलिया, सोमनाथ घिमिरे, साहित्यिक पत्रकारहरू रोचक घिमिरे र मोहन दुलालको उपस्थिति रहेको सो कार्यक्रममा साहित्यकारहरू किशोर पहाडी, मञ्जुल, भागीरथी श्रेष्ठ, पद्मावती सिंह, डा.गोविन्दमानसिंह कार्की, राम प्रसाद पन्त, शरद प्रधान, श्रीरामसिंह बस्नेत,कणाद महर्षि, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, विमल भौकाजी, श्रीबाबु कार्की, जय छाङ्छा तथा आनन्द अधिकारीलगायतको उपस्थिति रहेको थियो।
बत्तिसपुतलीस्थित ‘तपस’ होटलमा भएको कार्यक्रममा २०८० को रूक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान वरिष्ठ पत्रकार विनोदमणि दीक्षितलाई मरणोपरान्त प्रदान गरिएको हो भने रूक्मणिराज सिवाकोटी स्रष्टा सम्मान कवि तथा लेखक वशन्त श्रेष्ठलाई प्रदान गरिएको हो ।
स्रष्टा सम्मान ग्रहण गर्न वसन्त श्रेष्ठ अमेरिकाबाट आएका हुन् भने पत्रकारिता सम्मान विनोदमणि दीक्षितकी धर्मपत्नी रीता दीक्षितलाई समर्पण गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूलाई सभाका सभापति तथा पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीले सम्मानपत्र प्रदान गर्दै स्रष्टाहरूको सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
सम्मानित व्यक्तित्व वसन्त श्रेष्ठका बारेमा साहित्यकार जय छाङ्छाले बोलेका थिए भने वरिष्ठ पत्रकार विनोदमणि दीक्षितको बारेमा सांसद् रघुजी पन्त र पूर्व मन्त्री महेश आचार्यले बोलेका थिए ।
कोषका संस्थापक अध्यक्ष शेषराज सिवाकोटीले आफ्नो स्वागत मन्तव्यमा कोष र प्रतिष्ठानहरूको स्थापना, विगतका कार्यहरू र भावी कार्यक्रमका बारेमा प्रकाश पार्दै दिवङ्गत पत्रकार विनोदमणि दीक्षितको अर्को स्मृति अङ्क पुनः प्रकाशन हुने कुरा बताए ।
कार्यक्रममा न्यायाधीशहरू टोपबहादुर सिंह तथा प्रकाश वस्ती र अन्य वक्ताहरू गोपाल थपलिया,मोहन दुवाल,मञ्जुल,आनन्द अधिकारी,डा.विष्णुहरि नेपाल,भागीरथी श्रेष्ठ एवम् स्रष्टा वशन्त श्रेष्ठले आ-आफ्नो मन्तव्य राखेका थिए भने टि.आर. ढकालले धन्यवाद गरेका थिए ।
कार्यक्रममा ज्ञानगुनका कुरा भाग २१२ को विनोदमणि दीक्षित स्मृति अङ्क, भाग २१३ को ‘स्रष्टा वसन्त श्रेष्ठ अङ्क १’, भाग २१५ को नारायण गोपाल स्मृति अङ्क तथा भाग २१६ को पण्डित कपिलमुनि सिवाकोटी स्मृति अङ्कको विमोचन गरिएको थियो भने न्यायको भाग ३९ नयनबहादुर खत्री स्मृति अङ्क, भाग ४० सुवासचन्द्र नेवाङ् स्मृति अङ्क तथा रूक्मणिराज सिवाकोटी स्मृति पुष्प ४ को पनि विमोचन गरिएको थियो ।
साहित्यपोस्टक आजीवन सदस्य वसन्त श्रेष्ठ विशेषाङ्कमा त्रिचालिस विभिन्न लेखक, साहित्यकार तथा शुभेच्छुकका लेखहरू समावेश छन् । बाँकी लेखहरू वसन्त श्रेष्ठ अङ्क -२ मा समावेश गरेर प्रकाशन गर्ने तयारी प्रकाशकको रहेकाे छ ।
दोलखा जिल्लाका अग्रणी समाजसेवी तथा शिक्षा प्रेमी स्वर्गीय रूक्मणिराज सिवाकोटीको पुण्य स्मृति दिवसको अवसरमा आयोजित सो विशेष कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।