सडक सुरक्षा अभियन्ता, खेल अधिकारी, पर्यटन प्रवर्द्धक गाविन्दभट्टराइको ‘जिजीविषा’ कवितासङ्ग्रह, ‘ब्याकगियर’ व्यङ्ग्यसङ्ग्रह प्रकाशित भइसकेका छन् । साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई  उहाँको तेस्रो पुस्तक“कार्ल मार्क्सको कसम” प्राप्त भएको छ ।

कार्ल मार्क्सको कसम

कार्ल मार्क्सको कसम

यसमा न्युट्रल पोजिसन ‘पुस्तकका कुरा’, पहिलो गियर ‘यात्रा/अनुभूति’, दास्रो गियर गियर ‘नीति/नेतृत्व’, तेस्रो गियर ‘यातायात व्यवस्थापन’, चौथो गियर ‘सडक सुरक्षा’, पाँचौँ गियर ‘खेल/पर्यटन’, व्याक गियर ‘अजबको नेपाल/गजबको नेपाल’ आदि ६ वटा परिच्छेद समावेश छन् । प्रत्येक गियरमा पनि उपशीर्षकहरू राखी सडक र सवारीको अवस्था, तिनमा जोडिएको संवेदनशीलता, त्यस क्षेत्रमा भइरहेका दुःखद अभ्यासलाई उल्लेख गरिएको छ ।

पुस्तकका कुरामा लेखिएको छ, “देश कहिल्यै बन्दैन भन्नेहरूले नै ‘देश चलाइरहेका’ छन् भन्नुभन्दा दुःखको कुरा के हुनसक्छ । सार्वजनिक यातायात झन्झन् थला पर्यो या पारियो । समाजवादी संविधान भएको देशमा सार्वजनिक यातायात र मोबिलिटी सुरक्षाको लागि कति वर्ष लड्नुपर्ने हो ? राज्य आजसम्म किन सबैको हुन सकेन ? जुनसुकै सरकार होस् जनताले ठूलो आशा गरेका हुन्छन् । सानो अपेक्षा पूरा गर्न राज्यशक्ति असफल हुँदा यस्ता पुस्तक लेखिने अवसर पाउँछन् । आशा गरौँ, बिस्तारै यस्ता लेख तथा सङ्ग्रहहरू निकाल्न नपरोस् ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ यो पुस्तक मोबिलिटी, सडक र यातायात व्यवस्थापन, सडक सुरक्षा, दिगो शहरी विकासका क्षेत्रहरूमा आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूको सङ्ग्रह हो । यसमा सुरक्षित, दिगो, व्यवस्थित र सबै नागरिकको पहुँच सहितको मोबिलिटी अधिकार, सार्वजनिक यातायात, सडक सुरक्षा परिषद्, इन्टरनेसनल ड्राइभिङ परमिट र स्मार्ट सिटी एवं शहरी व्यवस्थापनका केही अनुभव र सुझाव समेत छन् । त्यसैगरी यो पुस्तकमा ड्राइभ टुरिजम र टु हिवल टुरिङ, मोटर स्पोर्ट्स, साहसिक तथा पर्यटकीय खेलकुद, आधुनिक पर्यटन प्रवर्द्धन तथा दिगो विकास बारेमा समेत रोचक तरिकाले वर्णन गरिएको छ ।”

पुस्तकलाई नासा फाउण्डेसन नेपालले प्रकाशनमा ल्याएको हो । २ सय ५८ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।